काठमाडौं । युनाइटेड टेक क्लबले भरतपुरमा आयोजना गरेको ‘क्याप्चर द फ्ल्याग’ प्रतियोगितामा 'ह्याक एट सेक' (Hack@Sec) टिम विजयी भएको छ । भरतपुरको युनाइटेड टेक्निकल कलेजमा हालै आयोजना भएको सो प्रतियोगितामा १६५० अंक ल्याएर काठमाडौंको ह्याक एट सेक पहिलाे भएको हो ।
उक्त टिममा विशाल अर्याल, निरज खतिवडा, रोमियो कार्की र प्रशान्त श्रेष्ठ सहभागी थिए । पहिलाे भएसँगै ह्याक एट सेक टिमले ३० हजार रुपैयाँ प्राप्त गरेको छ ।
त्यस्तै १४५० अंक ल्याएर 'द गोल्डेन डस्क' (The Golden Dusk) दाेस्राे भएको छ भने १४५० अंक नै ल्याएकाे 'टिम ह्याश' (#) तेस्राे भयाे । त्यस्तै ११०० अंक ल्याएर टिम 'नल' (null) चाैंथाे भयाे ।
प्रतिस्पर्धामा नेपालभरका कूल आठ ओटा टिम सहभागी भएका थिए ।
‘क्याप्चर द फ्ल्याग प्रतियोगिता साइबर सुरक्षाको क्षेत्रमा निकै महत्त्वपूर्ण छ,” टिम ह्याक एट सेकका लिडर विशाल अर्यालले भने, “यसले सीप विकास गर्न तथा समस्या समाधान गर्ने क्षमतालाई बढावा दिन सघाउँछ ।”
अर्यालका अनुसार सीटीएफ एउटा समूहमा गरिने प्रतिस्पर्धा भएकाले टिम सहकार्य तथा सञ्चारका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ । साइबर सुरक्षाका क्षेत्रमा नयाँ कुरा अन्वेषण गर्न, त्यस क्षेत्रका चुनौती पहिचान गर्न, विभिन्न क्षेत्रका व्यक्तिसँग सम्बन्ध स्थापित गर्न पनि यो प्रतियोगिता उपयोगी हुने उनले उल्लेख गरे ।
“सीटीएफ प्रतियोगिता एक अर्कासँग विचार, विमर्श, संवाद तथा छलफल गर्दै टिमकै सहभागीबाट प्रेरणा लिएर गरिने एक प्रकारको खेल पनि हो,” उनले भने, “यसले साइबर सुरक्षाको विभिन्न क्षेत्रमा संवाद र टिम निर्माणको काममा मद्दत पनि पुर्याएको हुन्छ । यसर्थ प्रतिस्पर्धात्मक वातावरणमा पनि आफूलाई निरन्तर सक्रिय राख्न यसले सहयोग गर्छ ।”
सीटीएफले व्यवहारिक शिक्षा र सीप प्रदान गर्दै गरेको हुन्छ । यसले पछि करियरमा पनि उत्तिकै भूमिका खेल्ने उनले सुनाए ।
"साइबर सुरक्षाको सन्दर्भमा प्रायः कम्पनीले नियुक्ति प्रक्रियामा सीटीएफ प्रतियोगिता आयोजना गर्छन् । यसले गर्दा कोही व्यक्ति सीटीएफ प्रतिस्पर्धामा आवद्ध भइसकेको छ भने यसले उनीहरूलाई कम्पनीमा स्थापित गर्न सघाउँछ,” अर्यालले भने ।