close

दुई वर्षभित्र नेपाल खुला विश्वविद्यालयको उच्च प्रविधियुक्त भवन बन्ने

टेकपाना टेकपाना

पुस १७, २०८० १६:३९

दुई वर्षभित्र नेपाल खुला विश्वविद्यालयको उच्च प्रविधियुक्त भवन बन्ने

 

काठमाडौं । अबको दुई वर्ष भित्रमा नेपाल खुला विश्वविद्यालयको उच्च प्रविधियुक्त आफ्नै भवन बन्ने विश्वविद्यालयका स्वास्थ्य तथा प्रविधि संकायका डीन प्रा डा केदारप्रसाद रिजालले जनाएका छन् । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा बाेल्दै उनले विश्वविद्यालयले जग्गा प्राप्त गरिसकेकाले भवन निर्माणको काम चाँडै सम्पन्न हुने बताए । 

“मन्त्रिपरिषदले विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरमा तोकेको छ । हामीले भक्तपुरमा जग्गा प्राप्त गरिसकेका छौं,” उनले अगाडि भने, “अबको दुई वर्ष भित्रमा हाई टेकको बिल्डिङ बनाएर डिस्ट्यान्स ओपन लर्निङ कस्तो हुनुपर्छ भनेर स्थापित गर्नेछौं ।”

“विद्यार्थी, स्टेकहोल्डर र अरु विश्वविद्यालयलाई यस प्रकारको शिक्षाको प्रतिफल के हुने रहेछ देखाउने छौं । परम्परागत कक्षा कोठामा धाएर भन्दा शिक्षामा आइरहेको प्याराडाइम शिफ्ट दिन सक्छौं,” उनले भने ।   

२१ औं शताब्दीको प्रविधिलाई ग्रहण गरेर दुर्गम ठाउँका विद्यार्थीहरूलाई समेटेर पठनपाठन तथा अनुसन्धान गर्न खुला विश्वविद्यालय खोलिएको डीन प्राडा रिजालले उल्लेख गरे । साथै खुला विश्वविद्यालयले वैज्ञानिक नभएर राम्रो व्यवस्थापक उत्पादन गर्न सहयोग गर्ने उनको भनाइ थियो । “जो पहिल्यै काम गरिरहनु भएको छ, उहाँहरूको ज्ञान र सीप बढाउन यो विश्वविद्यालय खोलिएको हो ।”

पछिल्लो अध्यावधिक: पुस १७, २०८० १६:३९