close

सीएसआईटीलाई ‘सेल्फ सस्टेन्ड’ कार्यक्रममा राखिएको भन्दै विरोध

टेकपाना टेकपाना

पुस १७, २०८० १९:३२

सीएसआईटीलाई ‘सेल्फ सस्टेन्ड’ कार्यक्रममा राखिएको भन्दै विरोध

काठमाडौं । बीएस्सी सीएसआईटी र एमएस्सी सीएसआईटीलाई लिएर त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले विशेष शैक्षिक कार्यक्रम (Self-sustained) कार्यक्रममा राखेकाे भन्दै कम्प्युटर साइन्स आल्मुनाइ एसाेसिएसनले आपत्ति जनाएकाे छ । एक विज्ञप्तिमार्फत यी शैक्षिक कार्यक्रमहरूलाई परिषद्ले विशेष शैक्षिक कार्यक्रम भनी निर्णय गरेकाेमा एसाेसिएसनले आपत्ति जनाएको हो ।

सीएसआईटी कार्यक्रमलाई थप सबल सुदृढ र सक्षम बनाउनुको साटो धराशायी पार्नेगरी कार्यरत जनशक्ति र अध्ययनरत विद्यार्थीहरूमा प्राज्ञिक नैराश्यता उत्पन्न गर्ने निर्णय भएको एसाेसिएसनकाे ठहर छ ।

त्यस्तै उक्त गैरजिम्मेवारपूर्ण निर्णय सच्याउन एसाेसिएसनले माग गरेको छ । अन्यथा सो निर्णयको सशक्त प्रतिकारमा उत्रिन बाध्य हुने र यसबाट उत्पन्न हुने असामान्य परिस्थितिको जिम्मेवार सरोकारवाला निकाय हुने एसाेसिएसनले उल्लेख गरेकाे छ ।

“… त्रिवि करार र त्रिवि सेवा आयोगमा उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक विज्ञापन खुलेको र सोही अन्तर्गत त्रिवि सेवा आयोग परीक्षा पास गरी कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभाग, कीर्तिपुर लगायत देशभरिका आङ्गिक क्याम्पसमा प्राध्यापकहरू कार्यरत रहेकाे अवस्था छ,” एसाेसिएसनले लेखेको छ, “उक्त जनशक्तिको आर्थिक व्ययभार त्रिविबाटै नियमित बजेट अन्तर्गत विनियोजन भई निकासा भइरहेको परिप्रेक्ष्यमा हाल आएर बीएस्सी सीएसआईटी र एमएस्सी सीएसआईटी कार्यक्रमका सम्बन्धमा 'सस्टेन्ड' भनी त्रिवि कार्यकारी परिषद् जस्तो गरिमामय निकायबाट निर्णय हुनु आफैंमा हास्यास्पद र गैरजिम्मेवारपूर्ण रहेको हाम्रो बुझाइ छ ।”

त्रिविले २०५८ देखि एमएस्सी एसआईटी र २०६५ देखि बीएस्सी सीएसआईटी कार्यक्रम सञ्चालन गरिरहेको छ । हाल यी दुवै विषय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत रहेका छन् । जसअन्तर्गत देशभर १५ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

हेर्नुहोस् विज्ञप्ति

 

पछिल्लो अध्यावधिक: पुस १७, २०८० १९:३२