close

फेसबुकमा फेक आईडीमार्फत भिडिओ कल गरी नग्न दृश्य देखाउने र रकम ठगी गर्ने धन्दा

टेकपाना टेकपाना

पुस १८, २०८० १६:३६

पोखराबाट पक्राउ परेका अनुराग घिमिरे, प्रवेश रिमाल र युनिक सिंह । पोखराबाट पक्राउ परेका अनुराग घिमिरे, प्रवेश रिमाल र युनिक सिंह ।

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न किसिमका अपराध भइरहेका छन् । यस्तोमा प्रयोगकर्तालाई ‘सेक्स ट्र्याप’मा पारी रकम ठगी गर्न खोज्ने घटना दिनहुँ बढिरहेका छन् ।

यस्तो घटनामा नक्कली आईडीमार्फत फ्रेन्ड रिक्वेस्ट पठाई साथी बन्ने र केही कुराकानी गरी भिडिओ कलमार्फत नग्न गतिविधि देखाई सो कलको रेकर्ड गर्ने र पछि सोही भिडिओको आडमा पीडितबाट रकम असुली गर्ने गरिन्छ । 

पीडितले रकम दिन नसके वा अस्वीकार गरे उसका आफन्त, साथीभाइलाई पठाइदिने, सामाजिक सञ्जालमा भाइरल गरिदिने तथा पोर्न वेबसाइटहरूमा अपलोड गरिदिने धम्की दिइन्छ । यस्तो धम्कीपछि धेरैजसो पीडित व्यक्तिहरू मागेअनुसार पटकपटक पैसा पठाउन बाध्य हुन्छन् । 

सेक्स ट्र्यापमा पारी यसरी रकम असुली गर्ने तथा भिडिओ अन्य व्यक्तिहरूलाई पठाएर चरित्रहत्या गर्ने घटना पछिल्लाे समय निकै बढेको नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपति कुमार राय बताउँछन् । उनका अनुसार यस्तो घटनाबाट किशोरकिशोरी र वयस्कहरू बढी पीडित हुने गरेका छन् । कतिपय अवस्थामा समाजमा नाम चलेका व्यक्तिहरूसमेत यस्ताे स्क्यामबाट पीडित भएका छन् ।

फेक आईडीबाट साथी बन्न आउने अनुरोध (फ्रेन्ड रिक्वेस्ट) सहजै स्वीकार्नेहरू यस्तो अपराधको शिकार हुने गरेकाे रायले सुनाए । ''आफूलाई फ्रेन्ड रिक्वेस्ट पठाएको आईडी नक्कली हो कि सक्कली ख्यालै नगरी एसेप्ट गर्ने वा त्यस्ता अकाउन्टसँग मेसेन्जरमा कुराकानी गर्दा यस्तो घटना हुने जाेखिम बढी हुन्छ,'' उनले भने ।

साइबर ब्यूरोमा यस्ताे घटनासम्बन्धी दर्जनौं उजुरी आएको उनले जानकारी दिए । उनका अनुसार देशभित्रैबाट हुने ठगीमा अनुसन्धान र कारबाही गर्न केही सहज भएपनि विदेशबाट हुने साइबर अपराधमा अनुसन्धान थाल्न धेरै चुनाैती छ । यसर्थ सम्भावित घटनाबाट जाेगिन प्रयाेगकर्ता नै बढी सजग हुनुपर्ने उनले सुझाए ।

हालैमात्र पोखरामा यस्तै घटनाका तीन आरोपी समातिएका छन् । पक्राउ पर्नेहरूमा पोखरा-२९ का २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर-१३ का २० वर्षीय प्रवेश रिमाल र सिरहाको लहान नगरपालिका-१ का २१ वर्षीय युनिक सिंह रहेका छन् । उनीहरूले फेसबुकमा महिलाको नामको नक्कली आईडी बनाएर पुरुषलाई साथी बनाउने र भिडिओ कल गरी अश्लील भिडिओहरू देखाएर स्क्रिन रेकर्ड गरी रकम नदिए भिडिओ पोस्ट गरिदिन्छु भनी ब्ल्याकमेल गर्दै धम्की दिने गर्थे । 

फेक आईडीमार्फत अश्लील भिडिओ च्याट रेकर्ड गरी ठगी गर्नेमा भारतीय स्क्यामर बढी सक्रिय रहेको पाइन्छ । यसका लागि गिरोह नै बनाएर उनीहरूले फेसबुकमा महिलाको नाममा फेसबुक आईडी खोली जथाभावी फ्रेन्ड रिक्वेस्ट पठाउने र फ्रेन्ड एसेप्ट गर्ने पुरुष प्रयोगकर्तासँग नजिकिएर अश्लील कुराकानी गर्नेसम्म बनाउँछन् । 

यसपछि भिडिओ कल गरी महिलाको यौनाङ्ग प्रदर्शन गर्ने र पुरुषलाई उत्तेजनामा ल्याई सो कार्य गर्न प्रेरित गर्छन् । गिरोह (स्क्यामर)ले यी सबै गतिविधिको भिडिओ स्क्रिनशट रेकर्ड गरिरहेका हुन्छन् । यसपछि यही भिडिओको आडमा रकम असुल्ने धन्दा सुरु हुन्छ । पीडितलाई तुरुन्त आफूले भनेको अकाउन्टमा पैसा नदिए भिडिओ आफन्त र साथीहरूलाई पठाई बेइज्जत गरिदिने भन्दै धम्की दिइन्छ ।

पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक गरी स्टोरी र फिडमा अश्लील सामग्री पोस्ट गर्ने घटना पनि भइरहेका छन् । यसाे हुँदा ह्याक भएका आईडीबाट आउने कल तथा मेसेजबाट सतर्क हुनुपर्ने साइबर सुरक्षा जानकारकाे सुझाव छ । 

यस्तो साइबर स्क्यामबाट बच्न के गर्ने ?

-फेसबुकमा अपरिचित व्यक्तिहरूलाई सकभर साथी नबनाउनुहोस् । साथी बनाउनैपर्ने सक्कली आईडी भएको निश्चित गर्नुहोस् ।

-अपरिचित आईडीबाट आफूलाई सिधै मेसेज गर्न नमिल्ने बनाउनुहोस् । शंकास्पद तथा स्पामयुक्त मेसेज तथा लिंक आए तत्काल फेसबुकलाई रिपोर्ट गर्नुहोस् ।

-फेक आईडीबाट कुनै शंकास्पद एवं आपराधिक कार्य भइरहेको थाहा पाए कारणसहित तुरुन्त त्यस्तो आईडी बन्द गर्न फेसबुकलाई रिपोर्ट गर्नुहोस् ।

-यदि माथिको लेखमा उल्लेख गरिएजस्तै साइबर स्क्याममा पर्नुभयो भने तत्काल उक्त फेक अकाउन्टलाई ब्लक गर्नुहोस् । साथै आफ्नो अकाउन्टमा प्रोफाइल लक (Profile lock) राख्नुहोस् र नजिकका आफन्त साथीभाइलाई पनि प्रोफाइल लक गर्न अनुरोध गर्नुहोस् । यसो गर्दा फेसबुकमा भएका साथीहरूलाई स्क्यामरले मेसेज पठाउन पाउँदैनन् ।

-स्क्यामरले रकम माग गरेको तथा आफन्त साथीभाइलाई भिडिओ पठाई ब्ल्याकमेल गरिरहेको छ भने साइबर ब्यूरो तथा नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् ।

पछिल्लो अध्यावधिक: पुस १८, २०८० १७:२०