close

दुई सातामा सामसङ ग्यालेक्सी अनप्याक्ड हुँदै, आउनेछन् एस२४ सिरिजसँगै नयाँ प्रडक्ट

टेकपाना टेकपाना

पुस २१, २०८० ८:५६

दुई सातामा सामसङ ग्यालेक्सी अनप्याक्ड हुँदै, आउनेछन् एस२४ सिरिजसँगै नयाँ प्रडक्ट

सामसङले यही जनवरीमा ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले नयाँ फोनसँगै सफ्टवेयर फिचर घोषणा गर्नेगरी २०२४ को पहिलो अनप्याक्ड इभेन्ट आयोजना गर्न लागेको हो ।

सामसङले यस वर्षको आफ्नो पहिलो ग्यालेक्सी अनप्याक्ड कार्यक्रम प्यासिफिक समयअनुसार १७ जनवरी बिहान १०ः०० बजे अर्थात् नेपाली समय अनुसार राति ११ः४५ बजे आयोजना गर्नेछ ।

यदि तपाईं नेपाल बाहिर हुनुहुन्छ भने कार्यक्रमका लागि त्यहाँको समय थाहा पाउन यहाँ क्लिक गरी रूपान्तरण गर्न सक्नु हुनेछ । सान जोस क्यालिफोर्नियामा हुने यो कार्यक्रममार्फत प्रत्येक अनप्याक्डमा जस्तै सामसङले उक्त दिन घोषणा गर्ने डिभाइसको प्रि-अर्डर समेत खुलाउन सक्छ ।

यदि तपाईं यो अनप्याक्डको बारेमा सम्झिराख्न चाहनु हुन्छ र तत्कालीन समयमा खुल्ने प्रि-अर्डरमा ५० अमेरिकी डलरको छुट चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्ना लागि आगामी ग्यालेक्सी रिजर्भ गर्न सक्नुहुन्छ ।

सामसङ ग्यालेक्सी अनप्याक्ड २०२४ बाट केके अपेक्षा गर्ने ?

कार्यक्रममा सबैभन्दा प्रमुख उत्पादनमा ग्यालेक्सी स्मार्टफोनहरू हुनेछन् । सामसङले यसबारे अहिलेसम्म केही नभने पनि १७ जनवरीमा ग्यालेक्सी एस २४ सिरिजले डेब्यु गर्ने निश्चित जस्तै छ ।

जुन २०२४ का लागि सामसङको फ्ल्यागशिप फोन हुनेछन्, जसमा उत्कृष्ट क्यामेरा, प्रोसेसर र सफ्टवेयर फिचर पाउन सकिनेछ । सामसङ ग्यालेक्सी एस

२४ सम्भवतः चौडा डिस्लेसहित ग्यालेक्सी एस २३ जस्तै देखिनेछ, बीचमा सेल्फी क्यामेराको कटआउट र पछाडि भागमा रहने क्यामेरा सिस्टममा तीन ओटा लेन्स हुनेछन् ।

त्यसैगरी ग्यालेक्सी एस २४ प्लस ग्यालेक्सी एस २४ कै ठूलो भर्सन हुनेछ भने फिचर र स्पेक भने लगभग समान पाउन सकिनेछ । सबैले अपेक्षा गर्ने सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा ग्यालेक्सी एस २३ सँग धेरै हदसम्म मिल्दोजुल्दो हुनेछ ।

यसलाई लिएर पछिल्लो समय चलिरहेको चर्चाअनुसार यो फोन चौडा डिस्प्लेसहित आउन सक्छ र क्यामेरा सिस्टममा पनि हलुका परिवर्तन देख्न सकिनेछ ।

अरू के आउलान् ?

सामसङको अनप्याक्डमार्फत आउने महत्त्वपूर्ण चिजहरूमा भौतिक उत्पादन मात्र हुने छैनन् । सामसङले १७ जनवरीकै दिन ग्यालेक्सी एआई समेत सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

जुन ओपन एआईले तयार पारेको च्याट जीपीटी, गुगलको बार्ड र माइक्रोसफ्टको कोपाइलटले सिर्जना गरेका जेनेरेटिभ एआईका लागि सामसङको जवाफ हुनेछ । यद्यपि ग्यालेक्सी एआईको विषयमा त्यति धेरै विवरण बाहिरिएको छैन ।

यसका केही फिचर मोबाइलमै प्रयोग गर्न सकिनेछ भने अधिकांश क्लाउडमा आधारित हुनेछन्, यस्तोमा त्यसका लागि डेटा वा वाईफाई कनेक्सन जरुरी हुनेछ । यस्तै सामसङबाट ग्यालेक्सी एस २४ सिरिजको साथमा वन यूआई ६.१ पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यसबाहेक अन्य हार्डवेयर प्रोडक्टको रूपमा सामसङले फिटनेस ट्रयाकरको रूपमा ग्यालेक्सी फिट सार्वजनिक गर्न सक्ने चर्चा भए पनि ल्यापटप, ट्याब्लेट, स्मार्टवाच अथवा इयरबड भने त्यतिधेरै अपेक्षा गरिएको छैन । किन भने अहिलेसम्म त्यसको कुनै स्पष्ट आधार देखिएको छैन ।

यो कार्यक्रम सामसङको आधिकारिक युट्युब च्यानल र सामसङ डटकमका साथै कम्पनीका विभिन्न सामाजिक सञ्जालमा लाइभ हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: माघ ३, २०८० १५:२७