close

ओभर स्पिडमा गुडेका गाडीको निगरानी गर्न नयाँ बसपार्कसहित ३ ठाउँमा स्मार्ट क्यामेरा जडान हुँदै

टेकपाना टेकपाना

पुस २२, २०८० १३:४२

ओभर स्पिडमा गुडेका गाडीको निगरानी गर्न नयाँ बसपार्कसहित ३ ठाउँमा स्मार्ट क्यामेरा जडान हुँदै

काठमाडौं । ट्राफिक नियम उलङ्घन गरेका सवारीसाधन पहिचान गर्न काठमाडौंका थप तीन ठाउँमा अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपीआर) सिस्टमको क्यामेरा जडानको काम अगाडि बढेको छ ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले राजधानीका तीन ठाउँमा एनपीआर सिस्टमको क्यामेरा जडानको काम सुरु गरेको हो ।

टेकपानासँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंको नयाँ बसपार्क, मूनी भैरव र महाराजगञ्ज क्षेत्रमा एएनपीआर क्यामेरा जडानको काम अगाडि बढेको बताए । 

“प्रहरी अहिले प्रविधिमैत्री हुँदै गइरहेको छ,” सूचना अधिकारी मैनालीले भने, “त्यही अन्तर्गत काठमाडौंका विभिन्न ठाउँमा अत्याधुनिक क्यामेरा जडान गर्न लागिएको हो ।”

यस्तो अत्याधुनिक क्यामेरा यसअघि कोटेश्वर, महालक्ष्मीस्थान र धोबीघाट क्षेत्रमा एएनपीआर विथ स्पिड डिटेक्सन क्यामेरा जडान गरिएको थियो । ती क्यामेराभन्दा अहिले जडान हुन लागेका थप क्यामेरामा के-कस्ता विशेषता हुनेछन् भन्नेबारे मैनालीले जडान गरिसकेपछि जानकारी दिने बताए ।  

यसअघि जडान भएका क्यामेराको सन्दर्भमा ती क्यामेराले बाटोमा गुडिरहेका सबै सवारी साधनको गति मापन गरिरहेका हुन्छन् । यदि कसैले तोकिए भन्दा बढी गतिमा सवारी चलाएको छ वा ट्राफिक नियम उलङ्घन गरेको छ भने उसको जानकारी ट्राफिक प्रहरीको कन्ट्रोल रुमको ‘सिस्डक सेभ’ नामक प्रणालीमा जम्मा भएर बस्छ ।

त्यसपछि नम्बर प्लेटको आधारमा सवारी धनी पहिचान गरी ट्राफिक प्रहरीले कारबाही गर्छ । ट्राफिक प्रहरी नभएको ठाउँमा चालकले मौका छोपी बढी गतिमा सवारी चलाउने गरेको पाइएपछि त्यस्तो हुन नदिन यी क्यामेरा जडान गरिएको थियो । त्यसबाहेक यस्ता क्यामेरा जडान गर्दा जनशक्ति कम लाग्ने र ट्राफिक नियमनको प्रक्रिया स्वचालित हुन्छ ।

हाल उपत्यकाका अधिकांश ठाउँमा तोकिएभन्दा बढी स्पिडमा कुदाउने सवारी पहिचानका लागि ‘लिडार गन’ प्रयोग भइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस २२, २०८० १४:२३