काठमाडौं । जहाजको एक भाग उडानको क्रममा अलग हुँदा त्यसबाट खसेको आईफोन सुरक्षित भेटिएको छ । सामाजिक सञ्जाल एक्स र टिकटकमा सेन बेस्ट नाम भएका प्रयोगकर्ताले क्यानडास्थित बर्नेस राेडमा १६ हजार फिट (४८७७ मिटर) माथिबाट खसेको आईफोन भेटाएको दाबी गरेका हुन् ।
बेस्टले सोमवार राखेको एक्स पोस्टमा सो फोन अलास्का एयरलाइन्सबाट खसेकाे उल्लेख गरेका छन् । “बाटोको छेउमा आईफोन भेटिएको छ,” उनले लेखेका छन्, “यो अहिले पनि हाल्फ ब्याट्रीका साथ एयरप्लेन मोडमा छ ।”
उक्त फोनको स्क्रिनमा अलास्का एयरलाइन्स ब्यागेजको बिल देखाइएको छ, जसमा ४ जनवरी २०२४ मा ७० अमेरिकी डलर तिरेको देखिन्छ । आईफोन भेटाएको दाबी गर्ने व्यक्तिले उक्त फोन अनलक रहेकै अवस्थामा फेला पारेको बताएका छन् ।
फोन हेर्दा स्क्रिन वा अन्य भाग टुटेको देखिंदैन भने ४४ प्रतिशत ब्याट्री देख्न सकिन्छ । फोनको चार्जिङ पोर्टमा भने टुटेको केबल जोडिरहेको देखाइएको छ ।
यद्यपि आईफोनको कुन मोडेल हो भन्ने कुरा उनले पोस्टमा कतै उल्लेख गरेका छैनन् । फोन हेर्दा त्यसमा डाइनामिक आइल्यान्ड देखिन्छ, जसले गर्दा फोन आईफोन १४ प्रो मोडेल वा आईफोन १५ सिरिजकाे कुनै मोडेल हुनसक्ने अनुमान गरिएको छ ।
अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का कर्मचारिले बेट्सलाई भने अनुसार विमानबाट हराएका फोनमध्ये यो भेटिएको दोस्रो फोन हो ।
एनटीएसबीले आइतवार एक प्रेस ब्रिफिङको क्रममा विमानबाट हराएका दुई ओटा फोनमध्ये एउटा सडक छेउमा र अर्को यार्डमा फेला परेको पुष्टि गरेको छ ।
शुक्रवार अलास्का एयरलाइन्सको विमान एएसए १२८२ (ASA 1282) उडानका क्रममा पोर्टल्यान्ड, ओरेगनबाट ओन्टारियो, क्यालिफोर्निया जाँदै गर्दा एक्कासि त्यसको झ्याल उड्यो । त्यही घटनामा बाहिर हावाको चाप कम हुँदा आईफोनसहित विमानमा भएका विभिन्न वस्तुहरू बाहिर निस्किएका थिए ।