close

अनलाइन क्यासिनो गेम खेलाउने तीन जना पक्राउ

टेकपाना टेकपाना

पुस २५, २०८० २१:१५

अनलाइन क्यासिनो गेम खेलाउने तीन जना पक्राउ

काठमाडौं । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका घर भई काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, सर्लाही बागमती नगरपालिका घर भई भक्तपुर सुर्यविनायक बस्ने २१ वर्षीय निशानराज कार्की, सर्लाही बरथहवा नगरपालिका घर भई भक्तपुर बस्ने २५ वर्षीय निशान गौतम रहेका छन् ।

उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आरोपी व्यक्तिहरूले क्यास एप, मिल्की वे, फायर किरिन, अल्ट्रा पान्डा लगायतका एप्लिकेसनमार्फत् विभिन्न खेलहरूमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टेबाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूका साथबाट अनलाइन क्यासिनो खेलाउन प्रयोग हुने ल्यापटप तथा मोबाइल पक्राउ गरिएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस २५, २०८० २१:१५