close

ह्वाट्सएपमा कसैले पैसा मागे सजग रहनूः राष्ट्र बैंक

टेकपाना टेकपाना

माघ ९, २०८० १६:२५

ह्वाट्सएपमा कसैले पैसा मागे सजग रहनूः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ह्वाट्सएप लगायतका इन्स्टयान्ट मेसेजिङ एपबाट कसैले रकम मागे सतर्कता अपनाउन सुझाव दिएको छ । पछिल्लो समय मेसेजिङ एपमा विभिन्न संस्थाका उच्च पदस्थ कर्मचारीको नाम र फोटो राख्दै ठगी गर्ने घटना बढेपछि नियामक राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्कता अपनाउन सुझाव दिएको हो । 

“विभिन्न निकायका उच्चपदस्थ व्यक्ति तथा संस्था प्रमुखहरूका नाम र तस्वीर दुरुपयोग गरी ह्वाट्सएप, भाइबर, मेसेन्जर आदिमा अकाउन्ट बनाएर वा ईमेल आईडी खोली ठगी गर्ने उद्देश्यले विभिन्न बहानामा रकम पठाइदिन सन्देश पठाउने गरेको पाइएको छ,” राष्ट्र बैंकले मंगलबार जारी गरेको सूचनामा लेखिएको छ, “आफ्ना चिनजानका व्यक्ति वा उच्चपदस्थ व्यक्तिले सहयोग मागेको जस्तो वा कुनै आग्रह गरेजस्तो देखिने भएकोले यस्ता सन्देशको विश्वास गरी वित्तीय कारोबार गर्नुपूर्व सजग भई सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर यकिन भएपछि मात्र वित्तीय कारोबार गर्ने बानी बसालौं ।”

डिजिटल वित्तीय कारोबारमा अनलाइन ठगीको जोखिम रहने भएकाले जुनसुकै कारोबार गर्दा अत्यन्तै सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको विवरण यकिन गरेर मात्र कारोबार गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: माघ ९, २०८० १७:१८