close

क्रिप्टोसँगै पार्सलको नाममा सोझा नेपालीबाट डेढ अर्ब बढी ठगी गर्ने व्यक्ति पक्राउ*

टेकपाना टेकपाना

माघ १६, २०८० १५:७

क्रिप्टोसँगै पार्सलको नाममा सोझा नेपालीबाट डेढ अर्ब बढी ठगी गर्ने व्यक्ति पक्राउ*

काठमाडौं । अनलाइन ठगी तथा क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पाँचथरबाट ती युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी घर भएका २६ वर्षीय डम्बर साह रहेका छन् । प्रहरीका अनुसार साह ह्वाट्सएप, फेसबुक, इमोजस्ता सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूलाई पार्सल पठाइदिन्छु भनी रकम मागेर ठगी गर्ने गर्थे ।

साह सञ्चालक रहेको उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट ग्रुप तथा उनको व्यक्तिगत खातामा विभिन्न लेयरमा रकम प्राप्त हुने गर्थ्याे ।

साहले जम्मा भएको रकम कसैलाई ब्याजमा उपलब्ध गराउने, कसैलाई बैंकमा ट्रान्सफर गरिदिने र क्रिप्टोसँग साट्ने गर्थे । त्यही क्रममा प्रहरीले उनको अकाउन्टबाट २४ वर्षीय मिथलेसकुमार मण्डलसँग क्रिप्टो किनबेच गरे । उनले क्रिप्टो किनबेच गरेको सूचना पाएपछि प्रहरीले कोटेश्वर काठमाडौंबाट मण्डललाई पक्राउ गरेको थियो ।

मण्डलाई पक्राउ गरेपछि उनले अवैध क्रिप्टो प्लेटफर्ममा मानिसहरूलाई यूएसडीटी लोड गरिदिने गरेको खुल्यो । प्रहरीका अनुसार मण्डलले आईटी पढ्ने विभिन्न विद्यार्थीलाई क्रिप्टो कारोबारमा संलग्न गराएका थिए । उनीहरू अवैध क्रिप्टोकरेन्सी बिटक्वाइन, क्याश एपमार्फत जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, ओरियन स्टार जस्ता खेल खेलाउँथे ।

पक्राउ पर्ने अन्य छ जनामा २४ वर्षीय मुरारी साह, २४ वर्षीय आर्यन साह, २४ वर्षीय अनिशकुमार रौनियार, २६ वर्षीय रोशन चौधरी, २३ वर्षीय शिवम कुमार यादव, २४ वर्षीय हरिशंकर चेधरी रहेका छन् । उनीहरू सबैको घर सिराहा हो । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाएको छ ।

(*समाचारको शीर्षक परिवर्तन गरिएको छ । सं.)

पछिल्लो अध्यावधिक: माघ १६, २०८० १७:५९