close

टेस्लाबाट एलन मस्कले पाउने भनिएको ५६ अर्ब डलरको तलब सुविधा अदालतले गरिदियो खारेज

टेकपाना टेकपाना

माघ १८, २०८० १३:४५

टेस्लाबाट एलन मस्कले पाउने भनिएको ५६ अर्ब डलरको तलब सुविधा अदालतले गरिदियो खारेज

काठमाडौं । टेस्लाबाट एलन मस्कले पाउने भनिएको ५६ अर्ब डलरको तलब सुविधा अदालतले खारेज गरिदिएको छ । अमेरिकी राज्य डेलावेयरकी एक न्यायाधीशले २०१८ मा एलन मस्कलाई टेस्लाबाट दिने भनिएको ५५ अर्ब ५० करोड डलरको तलब सुविधाको ‘डिल’ खारेज गरिदिएकी हुन् ।

मस्कलाई दिने भनेर गरिएको तलब सुविधाको डिल बढी भएको भन्दै शेयरधनी रिचार्ड टोर्नेटाले दायर गरेको मुद्दामा पाँच वर्षपछि अदालतले यस्तो फैसला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

मस्कलाई टेस्लाको सञ्चालक समितिले भुक्तानी प्याकेजलाई दिएको मन्जुरी अति नै त्रुटिपूर्ण भएको भन्दै मङ्गलवार न्यायधीश क्याथलिन म्याककोर्मिकले त्यसलाई खारेज गरेकी हुन् । टेस्लाको सञ्चालक समितिले सन् २०१८ मा कम्पनीको शेयर प्रदर्शनका आधारमा तोकिएको अवधिभित्र मस्कलाई तलब दिने प्रस्ताव पारित गरेको थियो ।

शेयरधनी रिचार्ड टोर्नेटा वकिलहरूले डेलावेयर अदालतमा मस्कले उनको तलब प्याकेजलाई प्रभावित गरेको भन्ने तर्क दिएका थिए । मस्कको तलब प्याकेज निर्धारण गर्ने कम्पनी निर्देशकहरू स्वतन्त्र नभएको र मस्कसँग उनीहरूको गहिरो सम्बन्ध भएको समेत दाबी गरिएको थियो । यसका लागि मस्कले प्याकेजका सर्तहरूमा आफ्नै इच्छा अनुसार ठूलो प्याकेज स्वीकृत गराएको समेत मुद्दा दायरकर्ताको आरोप छ । तर, मस्कका वकिलहरूले उक्त आरोप अस्वीकार गर्दै आएका थिए ।

अदालतले भने मस्कले कम्पनीबाट ५५ अर्ब डलरभन्दा बढी तलब लिन नसक्ने र यो कम्पनीको हितमा नभएको ठहर गरेको छ ।
 

विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मस्कले प्याकेजका रूपमा टेस्लाको ३० करोड ३० लाख स्टक पाउने डिल भएको थियो । सीएनएनका अनुसार आजका दिनमा उक्त स्टकको मूल्य ५१ अर्ब डलर हुन्छ । अमेरिकाको कर्पोरेट इतिहासमा यो नै सबैभन्दा ठूलो डिल थियो । यसले गर्दा नै मस्क विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बनेका थिए । 

मस्कले यस महिनाको सुरुमा टेस्लाको बोर्डलाई नयाँ तलब प्याकेज तयार गर्न आग्रह गरेका थिए । यसअन्तर्गत उनले कम्पनीमा आफ्नो शेयर १३ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउन आग्रह गरेका थिए । 

न्यायधीश म्याककर्मिकले आफ्नो निर्णयमा टेस्लाले उक्त अप्सन खारेज गर्नुपर्ने बताएकी छिन् । यद्यपि अहिलेसम्म कम्पनीलाई त्यसो गर्न औपचारिक आदेश दिइएको छैन ।

न्यायाधीशको निर्णयपछि बुधवार टेस्ला र मस्कको शेयर दुई प्रतिशतले घटेको छ । फोर्ब्सका अनुसार बिहीवार मस्कको सम्पत्ति १८२.६ अर्ब डलर छ । यससँगै उनी विश्वको धनाढ्यहरुको सूचीमा दोस्रो स्थानमा झरेका छन् ।

नोभेम्बर २०२२ मा टेस्लाका बोर्ड निर्देशकहरूले मस्क विश्वकै सबैभन्दा डाइनामिक उद्यमी भएको र उनको नेतृत्वमा कम्पनी नाफामा जाने भन्दै उक्त रकम बराबरको स्टक उपलब्ध गराएको तर्क दिएका थिए ।

टेस्लाको प्रमुख कार्यकारी हुनुका साथै मस्क प्रमुख शेयरधनी पनि हुन् । उनी टेस्लाबाहेक अन्य थुप्रै कम्पनीका मालिक हुन् । हाल उनी रकेट कम्पनी स्पेसएक्स, सामाजिक सञ्जाल एक्स, एआई कम्पनी एक्सएआई, ब्रेन चिप फर्म न्युरालिङ लगायतका कम्पनीका सञ्चालक हुन् ।

पछिल्लो अध्यावधिक: माघ १८, २०८० १४:८