close

ड्राइभिङ लाइसेन्सका लागि ल्याइएका ६ लाख स्मार्ट कार्डमा प्रिन्ट नहुने समस्या

टेकपाना टेकपाना

माघ १८, २०८० १९:३३

ड्राइभिङ लाइसेन्सका लागि ल्याइएका ६ लाख स्मार्ट कार्डमा प्रिन्ट नहुने समस्या

काठमाडौं । केही दिन अगाडि मात्र जर्मनबाट नेपाल ल्याइएका छ लाख कार्डमा प्रिन्ट नहुने समस्या देखिएको छ । कार्ड छापेर परीक्षणका लागि ल्याबमा पठाउने क्रममा प्रिन्ट नै नहुने समस्या देखिएको हो । 

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार कार्ड अनुसार प्रिन्ट मसिन पर्सनलाइज नहुँदा यस्तो समस्या आएको छ । “ल्याबमा परीक्षणका लागि पठाउनु अघि कार्ड प्रिन्ट गर्नु पर्‍यो, तर पर्सनलाइज नभएकाले कार्ड प्रिन्ट नहुने अवस्था आयो,” उनले भने, “हामीले पहिले ल्याएको भन्दा फरक कम्पनीबाट कार्ड ल्याएका हौं । त्यसैले सोही कार्ड अनुसार मसिन पर्सनलाइज गर्न समय लागेको हो ।” 

यसअघि विभागले १०० ओटा प्रिन्ट गरेका कार्ड र ५० ओटा खाली कार्ड ल्याबमा पठाउने तयारी गरेको थियो । नयाँ कार्डमा पुरानोभन्दा सेक्युरिटी फिचरहरू बढी भएको रिजालको भनाइ छ । “यसमा तीन तहका सेक्युरिटी फिचर छन्,” उनले अगाडि भने, “हामीसँग कार्ड छ, मसिन छ, छपाई हुँदैन भन्ने छैन । त्यही अनुसार पर्सनलाइजेसन गर्न समय लागेको हो । पर्सनलाइजेसन गर्ने प्रक्रिया अलि लामो हुन्छ ।”

जुनसुकै मसिनबाट कार्ड प्रिन्ट गर्न सकिने भयो भने त्यो सुरक्षा कमजोरी मानिने उनको भनाई छ । त्यसैले जुनसुकै ठाउँबाट यो कार्ड छाप्न नसकियोस् भनेर सेक्युरिटी फिचर थपिएको रिजालले सुनाए । 

उनका अनुसार कार्ड प्रिन्ट गर्ने मसिनमा प्रत्येक २४ घण्टामा एउटा की हाल्नुपर्ने हुन्छ । जसमा तीन ओटा की राख्नुपर्ने छ । “तीन ओटा की राखेपछि एउटा एग्रिग्रेटेड की बन्छ । एग्रिगेट की कार्ड छाप्ने जर्मन कम्पनी म्युहलबाअरले  छानेपछि  लाइसेन्स प्रणाली चलाइरहेको भारतको मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले पठाइदिनु पर्छ । एमएसपीले की राखेपछि यहाँ प्रिन्ट गर्न सकिन्छ,” उनले थपे । 

मसिन पर्सनलाइजेसनको काम सकिएपछि प्रदेशबाट पनि कार्ड छाप्ने प्रक्रिया अगाडि बढाउने विभागको योजना छ । सबै भने अनुसार भए अबको १५ दिनपछि प्रभावकारी रूपमा कार्ड छपाइको काम अगाडि बढ्ने रिजालले सुनाए । 

 

पछिल्लो अध्यावधिक: माघ १८, २०८० १९:३३