close

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट अझै चलेन, सेवाग्राही प्रभावित

टेकपाना टेकपाना

माघ २१, २०८० १२:२५

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट अझै चलेन, सेवाग्राही प्रभावित

काठमाडौं । मंगलबार ह्याक भएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट पाँच दिन बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । वेबसाइट नचल्दा विद्यार्थी सेवाग्राही प्रभावित भएका छन् ।

यो वेबसाइटबाट त्रिविको आधिकारिक सूचना, परीक्षाफल लगायतका विवरण हेर्न मिल्थो । साथै गत सोमवारदेखि पनिकाले विभिन्न प्रमाणपत्रको फारम अनलाइनबाट भर्न मिल्ने सुविधा ल्याएको थियो । यसअन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने गरी सर्टिफिकेट एप्लिकेसन पोर्टल सार्वजनिक गरिएको थियो ।

तर, अनलाइन सेवा सार्वजनिक भएको भोलिपल्टै पनिकाको मुख्य वेबसाइट ह्याकरको नियन्त्रणमा पुग्यो । १६ वर्षीय एक ह्याकरले सिस्टममा सुरक्षा कमजोरी (बग) भेटिएको भन्दै उक्त वेबसाइट आफ्नो फेसबुक अकाउन्ट रिडाइरेक्ट हुने बनाएका थिए । हाल उनीमाथि त्रिवि र साइबर ब्यूरोले अनुसन्धान गरिरहेका छन् ।

यसअघि परीक्षा नियन्त्रक पुष्पराज जोशीले वेबसाइट मर्मतको काम अन्तिम चरणमा पुगेको र शुक्रबार बिहानदेखि सञ्चालनमा आउने जानकारी दिएका थिए । तर वेबसाइट अझै नचल्दा सेवाग्राही मारमा परेका हुन् । पनिकाले वेबसाइट सञ्चालनबारे नयाँ अपडेट दिएको छैन । सोधपुछका लागि उपलब्ध गराइएको पनिकाको आधिकारिक ल्यान्डलाइन नम्बर मा समेत फोन नलाग्ने समस्या देखिएको छ ।

पछिल्लो अध्यावधिक: माघ २१, २०८० १२:२८