close

क्यान इन्फोटेक उद्घाटन गर्ने क्रममा ड्रोन दुर्घटना

टेकपाना टेकपाना

माघ २५, २०८० १७:३०

क्यान इन्फोटेक उद्घाटन गर्ने क्रममा ड्रोन दुर्घटना

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २९औं संस्करणको क्यान इन्फोटेकको उद्घाटन सत्रमा पुष्प वृष्टि गर्ने ड्रोन दुर्घटनामा परेको छ ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित सूचना तथा प्रविधि प्रदर्शनी २०८० को उद्घाटन समारोहमा ड्रोन दुर्घटनामा परेको हो । आयोजक क्यान महासंघले दीप प्रज्वलका लागि मोबाइल एप र पुष्प वृष्टिका लागि ड्रोन प्रयोग गरेको थियो ।

त्यही क्रममा कार्यक्रमकाे ड्याशबाट उडेको ड्रोन दर्शकदीर्घातर्फ पुष्प बर्साइरहेको थियो । त्यही क्रममा ‘पहिलो लहर’ तर्फ पुग्ने क्रममा ड्रोन दुर्घटनामा परेको हो । दर्शक भएकै ठाउँमा ड्रोन झरेको भएपनि मानवीय क्षति भने हुन पाएन ।

क्यानले पुष्प वृष्टिका लागि मधुका ड्रोन सेवाको ड्रोन प्रयोग गरेको थियाे । उद्‍घाटन सत्रमा सहभागी मधुका ड्रोन सेवाका एक प्राविधिकका अनुसार ड्रोनमा एउटा ब्याट्री अकस्मात् डाउन हुँदा ड्रोन झरेको हो ।

“अगाडि ब्याट्री फुल भएको देखाएको थियो,” ती प्राविधिकले टेकपानासँग भने, “ड्रोनमा राखिएको ब्याट्रीमा चार ओटा सेल हुन्छन् । सबै सेल चार भोल्टका हुन्छन् । त्यहीमध्ये एउटा पूरै डाउन भएको रहेछ । त्यसैले एक्कासि ब्याट्री डाउन हुँदा झरेको हो ।”

कुनै सेलमा समस्या हुँदा पनि ब्याट्री फुल देखाउँदा त्यस्तो समस्या आएको ती प्राविधिकले जनाए । “एउटा सेल डाउन भयो भने त्यसले ड्रोन धान्न सक्दैन अनि एक्कासि झर्छ,” उनले थपे ।

सो ड्रोन मधुका ड्रोन सर्भिसेसमै बनाइएको हाे । कतिपयले सभागृहमा ड्रोनको रेडियसन ब्लक गर्ने प्रविधि भएको दाबी गरे पनि त्यस्तो केही नभएको उनको भनाइ छ । उनले भने, "त्यस्तो ड्रोन झार्न सक्ने फ्रिक्वेन्सी नेपालमा अहिलेसम्म भएको थाहा छैन ।"

पछिल्लो अध्यावधिक: माघ २५, २०८० १७:३०