close

पाँच वर्ष लगाएर बनेको नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलिना’ चैत १६ मा प्रदर्शन हुने

टेकपाना टेकपाना

फागुन २, २०८० १४:१९

पाँच वर्ष लगाएर बनेको नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलिना’ चैत १६ मा प्रदर्शन हुने

काठमाडौं । पाँच वर्ष लगाएर एनिमेसन प्रविधिबाट तयार पारिएको नेपाली चलचित्र‘सलिना’ आउँदो चैत १६ गते प्रदर्शनमा आउने भएको छ । वसन्त पञ्चमीको अवसरमा बुधबार रेनमेकर एनिमेसन एकेडेमीले चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

प्रदर्शन मितिको घोषणा भएसँगै चलचित्रका पात्रले सरस्वती माताबाट आशीर्वाद लिइरहेको पोस्टर पनि सार्वजनिक गरिएको छ । चलचित्रलाई ब्याङ्कटेस इन्टरटेन्टमेन्ट प्रालिको तर्फबाट मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दैछन् । ट्रेलर भने ओएसआर डिजिटलबाट रिलिज हुन लागेको चलचित्रका निर्देशक तेजसराज जोशीले जानकारी दिए । 

सलिना रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको चलचित्र हो । “यो सम्पूर्ण रुपमा नेपाली प्राविधिक र नेपाली भाषामा निर्माण गरिएको नेपालकै पहिलो एनिमेटेड फिचर फिल्म हो,” टेकपानासँग कुरा गर्दै जोशीले भने, “यसमा पार्श्व आवाज मानिसको राखिएको छ । त्यसबाहेक अन्य सबै पात्रहरू एनिमेसन प्रविधिबाट तयार पारिएको हो ।” 

पुरीका अनुसार सलिना १६ चैतमा नेपालका मल्टिप्लेक्स सिनेमा घरमा आउनेछ । पहिलो चरणमा मल्टिप्लेक्स थियटरमा प्रदर्शन हुने यो चलचित्र त्यसपछिका दिनमा क्रमशः सिङ्गल थियटरहरुमा पनि शोहरु बढाउँदै लग्ने निर्माण पक्षले जानकारी दिएको छ ।

बुधवार यस चलचित्रको दोस्रो आधिकारिक पोस्टर पनि सार्वजनिक भएको छ । यही साता चलचित्रको दोस्रो टिजर पनि सार्वजनिक हुने जोशीले सुनाए । यो चलचित्र तेजसराज जोशीले निर्देशन गरेका हुन् ।

यस चलचित्र तेजस राज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । त्यस्तै श्रुति र शिव पुरीले सम्पादन गरेका छन् । ग्राफिक आर्टमा भने सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरकाे याेगदान छ । चलचित्रको सूचना प्रविधि र नेटवर्किङको प्राविधिक काम अचिनसुन्दर प्रधानले गरेका छन् ।

नेपालको पहिलो एनिमेटेड चलचित्र दाबी गरिएको सलिना काल्पनिक राजकुमरीको कथामा आधारित छ । सानो टिम भएकाले चलचित्र निर्माण गर्न पाँच वर्ष लागेको जोशीको भनाइ छ । उनका अनुसार चलचित्र दन्त्य कथामा आधारित छ, जहाँ राजकुमारी सलिना मुख्य पात्र छिन् । उनी अरू पात्रहरूसँग मिलेर सबैभन्दा ठूलो राक्षसलाई हराउने अभियानमा यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा चलचित्रको कथा अगाडि बढ्छ ।

पछिल्लो अध्यावधिक: फागुन २, २०८० १४:३४