close

डिजिटल उद्यमी बन्न इच्छुकका लागि एक महिने तालिम हुँदै

टेकपाना टेकपाना

फागुन ३, २०८० १५:५०

डिजिटल उद्यमी बन्न इच्छुकका लागि एक महिने तालिम हुँदै

चितवन । डिजिटल मार्केटिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको एसडी टेक कम्पनी प्रालिले एक महिने 'डिजिटल उद्यमी' तालिम गर्ने भएको छ । स्वदेशमै उद्यम गर्दै आएका जनशक्तिलाई लक्षित गर्दै कम्पनीले यस्तो तालिम आयोजना गर्न लागेको हो ।

यसमा बढीमा ६० घण्टाको कोर्स उपलब्ध गराइने कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक सौगात देवकोटाले जानकारी दिए । “अहिले स्वदेशमै व्यवसाय गरिरहेका, व्यवसाय गर्न खोजिरहेका, स्टार्टअप गरिरहेका वा स्टार्टअप गर्न खोजिरहेका युवाहरूलाई लक्षित गर्दै यो सशुल्क तालिम आयोजना गर्न लागेका छौं,” देवकोटाले भने, “यसले उनीहरूलाई व्यवसाय डिजिटल माध्यममा विस्तार गर्न टेवा पुर्‍याउँछ ।”

तालिममा सहभागी हुनेले सोसल मिडिया मार्केटिङ सिक्न सक्नेछन् । सोसल मिडिया मार्केटिङ भन्नाले सामाजिक सञ्जालमार्फत व्यवसाय प्रवर्द्धन गर्ने काम हो । त्यसका साथै सामाजिक सञ्जालमा कसरी पेज बनाउने, कस्तो पोस्ट राख्ने, कतिबेला पोस्ट गर्ने, ती पोस्ट कसरी व्यवस्थापन गर्ने, पोस्ट कसरी डिजाइन गर्ने, पेजमा कसरी विज्ञापन सञ्चालन गर्ने भन्ने विषयमा सिकाइने देवकोटाले सुनाए । 

“तालिममा हामी गुगल एड (गुगलमार्फत गरिने विज्ञापन) कसरी सञ्चालन गर्ने, गुगल म्याप्स मार्फत व्यवसाय कसरी प्रवर्द्धन गर्ने भन्ने जानकारी दिन्छौं,” उनले भने, “त्यसबाहेक ईमेल पठाउन, बल्क एसएमएस पठाउन, एसएमएस मार्केटिङ, अटो मेसेज क्रियट गर्न, व्यवसायका लागि ह्वाट्सएप/भाइबर च्यानल कसरी गर्ने भन्नेबारे सिकाउँछौं ।”

पछिल्लो समय सामाजिक सञ्जालका अकाउन्ट ह्याक हुने गतिविधि पनि बढ्दै गएकाले तालिमका सहभागीलाई त्यस्ता घटनाबाट आफू कसरी जोगिने, सामाजिक सञ्जाल कसरी सुरक्षित राख्ने लगायतका विषयमा साइबर सचेतना दिइने उनले जनाए । 

त्यसका साथै सहभागीले डिजिटल माध्यममा बिल तयार पार्ने, रेकर्ड राख्ने, कारोबार अगाडि बढाउने सकिने विषयमा पनि जान्न पाउनेछन् । उनले अगाडि भने, “समग्रमा भन्नुपर्दा व्यवसायका लागि आवश्यक पर्ने सफ्टवेयर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सम्पूर्ण जानकारी दिन्छौं । त्यसबाहेक वेबसाइट व्यवस्थापन तथा एसईओको बारेमा जानकारी दिन्छौं ।”  

कार्यक्रममा सहभागी हुनेले नेपाली टाइपिङ गर्न सिक्नुका साथै वर्ड, पीपीटी तथा एक्सल सफ्टवेयर समेत प्रयोग गर्न जान्नेछन् ।

यो चितवनका उद्यमीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको सशुल्क तालिम हो । यसमा भौतिक रूपमा सहभागी हुनुपर्ने हुन्छ । तालिममा ५० बढी सहभागी हुने आयोजककाे अपेक्षा छ ।

तालिममा सहभागी इच्छुक व्यक्तिले एसडी टेक कम्पनीलाई सामाजिक सञ्जालका विभिन्न माध्यमबाट वा यहाँ क्लिक गरेर थप बुझ्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०८० १९:५८