close

९० इन्टरनेट सेवाप्रदायकले तिरेनन् रोयल्टी र आरटीडीएफ शुल्क, फागुन मसान्तभित्र बुझाउन ताकेता

टेकपाना टेकपाना

फागुन ३, २०८० १६:४५

९० इन्टरनेट सेवाप्रदायकले तिरेनन् रोयल्टी र आरटीडीएफ शुल्क, फागुन मसान्तभित्र बुझाउन ताकेता

काठमाडौं । विभिन्न ९० इन्टरनेट सेवाप्रदायकले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष रकम नतिरेको पाइएको छ । बिहीवार एक सूचना प्रकाशित गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले राज्यलाई तिर्नुपर्ने राजस्व नतिर्ने सेवाप्रदायकको सूची सार्वजनिक गरेको छ ।

यसअन्तर्गत क्लासिक टेक, भायानेट, डिश मिडिया नेटवर्क, वेबसर्फर, वाईफाई नेपाल, टेकमाइन्ड्स नेटवर्क, स्काई ब्रोडब्यान्ड लगायत ९० सेवाप्रदायक रहेका छन् ।

यी सेवा प्रदायकहरूले आर्थिक वर्ष २०७९/८० को अडिटेड वित्तीय विवरण अनुसार बुझाउनु पर्ने कूल आम्दानीको चार प्रतिशतले हुने रोयल्टी बापतको रकम र दुई प्रतिशतले हुने ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम तोकिएको समयसीमा भित्र नबुझाएको प्राधिकरणले जनाएको छ ।

यसअघि २०८० पुस मसान्तभित्र बुझाउन पत्राचार गरिए पनि हालसम्म राजस्व दाखिला नभएकाले २०८० फागुन मसान्तभित्र नियमानुसार लाग्ने २ महिनाको थप दस्तुर सहित रकम बुझाउन प्राधिकरणले ताकेता गरेको छ ।

यसअनुसार रोयल्टी बापतको रकम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राजस्व खातामा र ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम प्राधिकरणको खातामा दाखिला गर्न अनुरोध गरिएको छ ।

साथै मन्त्रालयमा दाखिला गरेको रोयल्टी रकमको भौचर र प्राधिकरणको खातामा दाखिला गरेको आरटीडीएफ रकमको भौचर र अडिटेड वित्तीय विवरण सहित प्राधिकरणमा अनिवार्य रूपमा दर्ता गरी जानकारी गराउन समेत सूचित गरिएको छ ।

पुस मसान्तभित्र रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला गर्ने सेवाप्रदायकहरू

पछिल्लो अध्यावधिक: फागुन ३, २०८० १६:५८