close

लोगो डिजाइनमा प्रतिस्पर्धा गराउँदै चिकित्सा आयोग, उत्कृष्ट ६ डिजाइनरलाई पुरस्कृत गरिने

टेकपाना टेकपाना

फागुन ४, २०८० ११:५९

लोगो डिजाइनमा प्रतिस्पर्धा गराउँदै चिकित्सा आयोग, उत्कृष्ट ६ डिजाइनरलाई पुरस्कृत गरिने

काठमाडौं  । चिकित्सा शिक्षा आयोगले लोगो डिजाइन प्रतिस्पर्धा गराउने भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम सबै काम कारबाहीको लागि छुट्टै लोगो चाहिने भएकाले आयोगले लोगो डिजाइन प्रतिस्पर्धा गराउन लागेको हो ।

लोगो प्रतिस्पर्धामा इच्छुक जोकोही डिजाइनर सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धामा पठाउने लोगोमा आयोगको चिनारी र सोच झल्केको हुनुपर्ने बताइएकाे छ । लोगो डिजाइनलाई कलर आर्टवर्क र ब्ल्याक एन्ड ह्वाइट लाइन आर्ट गरी दुई स्वरूपमा तयार पार्नु पर्नेछ । साथै डिजाइन गरिएको लोगोको मुद्रित र डिजिटल दुवै प्रति आयोगलाई बुझाउनु पर्नेछ ।

त्यस्तै रङ, रेखा, आकृति तथा अक्षर सकेसम्म कम प्रयोग गरी सन्देश स्पष्ट भएको हुनुपर्ने पनि आयोगले जनाएको छ । तर पहिल्यै सार्वजनिक भइसकेका वा अन्य संस्थाको लोगो नक्कल गरी पेस भएका डिजाइन अस्वीकृत हुनेछ ।

विषय विज्ञ तथा आयोगका पदाधिकारीको समितिले पठाइएका लोगोबाट उत्कृष्ट पाँच छान्ने र आवश्यक परेमा डिजाइनरलाई परिमार्जनका लागि आग्रह गर्नेछ । त्यसपछि पाँच उत्कृष्ट मध्येबाट सो समितिले एउटालाई अन्तिम डिजाइनको रूपमा छनोट गर्नेछ ।

छनोट भएका उत्कृष्ट पाँच डिजाइनहरूलाई प्रोत्साहन पुरस्कार र सर्वोत्कृष्ट डिजाइनलाई उचित पुरस्कार तथा कदरपत्र उपलब्ध गराइने आयोगले जनाएको छ ।

इच्छुक डिजाइनरले २ चैतसम्म आयोगको कार्यालय अथवा ईमेल ठेगाना [email protected] मा पठाउन सक्नेछन् ।

हेर्नुहोस् सूचना


 

 

पछिल्लो अध्यावधिक: फागुन ४, २०८० १२:६