close

आफ्ना चार्जिङ स्टेसन अपग्रेड गर्दै एमजी, १५ दिनसम्म सेवा अवरुद्ध रहने

टेकपाना टेकपाना

फागुन ७, २०८० १०:४१

आफ्ना चार्जिङ स्टेसन अपग्रेड गर्दै एमजी, १५ दिनसम्म सेवा अवरुद्ध रहने

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सका चार्जिङ स्टेसन १५ दिनसम्म नचल्ने भएका छन् । नेपालको लागि एमजीको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले मर्मत र सफ्टवेयर अपग्रेडका लागि सोमबारदेखि आफ्ना सेवा अवरुद्ध रहने जानकारी गराएको हो । 

कम्पनीले देशका विभिन्न स्थानमा ३० किलोवाटका चार्जिङ स्टेसन राखेको छ । ती चार्जिङ स्टेसनमा मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने बताइएको छ । 

यस समयमा सबै ३० किलोवाट डीसी चार्जिङ स्टेसनहरू अस्थायी रूपमा उपलब्ध हुने छैनन् । पारामाउन्ट मोटर्सले यो १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ स्टेसन प्रयोग गर्न अनुरोध गरेको छ । 

“यसबाट ग्राहक वर्गमा पर्न जाने असहजता एवम् असुविधाका लागि क्षमाप्रार्थी छौं,” कम्पनीले भनेको छ । आगामी दिनमा सहज सेवा प्रदान गर्नका लागि मर्मत सम्भार, अपग्रेड र सफ्टवेयर अपडेट गर्न आवश्यक  भएको बताइएको छ । यसले ग्राहकको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीले दाबी गरेको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन ७, २०८० १०:४२