close

बाहिरियो साओमी १४ अल्ट्राको क्यामेरा स्पेक, देला त ग्यालेक्सी एस२४ अल्ट्रालाई टक्कर ?

टेकपाना टेकपाना

फागुन ७, २०८० १७:२५

बाहिरियो साओमी १४ अल्ट्राको क्यामेरा स्पेक, देला त ग्यालेक्सी एस२४ अल्ट्रालाई टक्कर ?

काठमाडौं । साओमीले आउँदो केही हप्तामा सार्वजनिक हुने साओमी १४ अल्ट्राको टिजर सार्वजनिक गरेको छ । यही २५ फेब्रुअरीमा विश्व बजारमा आउने तयारीमा रहेको यो फोनको आधिकारिक लुकसहित केही विवरण बाहिर आएका हुन् ।

कम्पनीका सहसंस्थापक तथा सीईओ लेई जुनले सामाजिक सञ्जालमा साओमी १४ केही तस्विर पोस्ट गरेका छन् । जुन धेरै हदसम्म यस अघि नै लिक भएका तस्विरसँग मिल्दाजुल्दा छन् ।

फोन कालो, सेतो तथा सिल्भर रङ्गको विकल्पमा उपलब्ध हुने तस्विरले देखाएको छ । साओमी १४ अल्ट्राको पछाडि भागमा ग्लासको कभरको साटो कृत्रिम लेदर रहेको समेत देखिन्छ ।

डिजाइनसँगै बाहिर आएका अन्य फिचरमा मेटालिक फ्रेम र पेरिस्कोप सहित चार ओटा क्यामेरा रहेको ओरियो-स्टाइलको क्यामेरा हाउजिङ समेत रहेका छन् । यसअघि फोनमा कर्भ्ड डिस्प्लेको साटो फ्ल्याट स्क्रिन रहने चर्चा सुनिएको थियो, तर साओमीले वाइबोमा बताए अनुसार हलुका कर्भ्ड स्क्रिन रहेको छ ।

यद्यपि सँगै सार्वजनिक भएका अन्य तस्विरले यो फोनको स्क्रिन धेरै हदसम्म २.५ डी जस्तो लाग्छ । वेइबोमार्फत साओमीले क्यामेरा सिस्टमका केही फिचरको बारेमा समेत बताएको छ ।

जसअनुसार हामीले फोनमा एक इन्चको ५० मेगापिक्सेल एलवाईटी-९०० क्यामेराको आशा गर्न सक्छौं । यसमा एफ/१.६३ सम्मको वाइड अपार्चर रहेको छ ।

यस अतिरिक्त कम्पनीले ३.५x५० मेगापिक्सेल क्यामेरा र ५x ५० मेगापिक्सेलको पेरिस्कोप क्यामेरा रहने कुरा समेत खुलाएको छ । यी दुवै क्यामेराले आईएमएक्स ८५८ सेन्सर र टेलिस्कोप क्यामेराका लागि वाइड अपार्चर प्रयोग गर्नेछन्, नामै लिएर भन्नु पर्दा क्रमशः एफ/१.८ र एफ/२.६ अपार्चर रहनेछ ।

विशेषगरी पेरिस्कोप क्यामेराको अपार्चरमा गत वर्षको अल्ट्रामा रहेको एफ/३.० भन्दा सुधारिएको छ । यो सामसङ एस २४ अल्ट्राको ५x क्यामेरा (एफ/३.४) भन्दा पनि वाइड हो । त्यसैले यो फोनमा सामसङ फोनको तुलनामा लो-लाइटमा खिचिएका तस्विरको गुणस्तर बढी राम्रो अपेक्षा गर्न सकिन्छ ।

बार्सिलोनामा आयोजित हुने मोबाइल वर्ल्ड कँग्रेसमा यो फोन विश्व बजारका लागि सार्वजनिक हुनेछ । यस हिसाबले गज्जबको क्यामेरा फोन खोजिरहेका साओमी फ्यानका लागि प्रतीक्षाको घडी लगभग समाप्त भएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ८, २०८० १०:५३