close

अब गुगल मेसेज एपबाट सोझै फोटो खिचेर वा भिडिओ रेकर्ड गरेर पठाउन सकिने

टेकपाना टेकपाना

फागुन ८, २०८० १२:१९

अब गुगल मेसेज एपबाट सोझै फोटो खिचेर वा भिडिओ रेकर्ड गरेर पठाउन सकिने

काठमाडौं । गुगल मेसेजमा अब क्यामेरा इफेक्ट उपलब्ध हुने भएको छ । ग्लोबल मोबाइल सर्भिसेस (जीएमएस) को आवश्यकतालाई मध्यनजर गर्दै गुगलले आफ्नो डिफल्ट मेसेजिङ एपमा यस्तो सुविधा ल्याउन लागेको हो । 

स्मार्टफोन प्रयोगकर्ताले गुगल मेसेजबाट आरसीएस (रिच कम्युनिकेसन सर्भिसेस) मार्फत मोबाइलमा सोझै फोटो, भिडिओ, स्टिकर, गिफ फाइल, लोकेसन, कन्ट्याक्ट आदि पठाउन सक्छन् । यस्तोमा मेसेज एपबाट सोझै फोटो खिचेर वा भिडिओ रेकर्ड गरेर पठाउन सकिन्छ । तर, त्यसमा कुनै क्यामेरा इफेक्ट वा भनौं फिल्टर प्रयोग गर्न सकिंदैन ।

यो फिचर उपलब्ध भएसँगै गुगल मेसेजबाट सोझै फोटो खिचेर त्यसमा उपयुक्त हुने क्यामेरा इफेक्ट छानेर पठाउन सकिने एन्ड्रोइड अथोरिटीले उल्लेख गरेको छ । यो फिचर छिट्टै उपलब्ध हुने भनिएको छ । यद्यपि सार्वजनिक हुने मिति बाहिरिएको छैन । 

एन्ड्रोइडका फिचरबारे जानकारी दिने एसपी एन्ड्रोइडका अनुसार गुगलले क्यामेरा इफेक्ट मात्र नभई अन्य फिचर ल्याउने तयारी गरेको छ । त्यस्तै अहिले गुगलमा टप कन्ट्याक्ट भन्ने फिचर छ । विशेषगरी सर्च बक्समा क्लिक गर्नुभयो भने पछिल्लो समय तपाईंले सबैभन्दा बढी अन्तरक्रिया गरेको कन्ट्याक्ट देखिन्छ । गुगलले भने यो फिचर हटाउने तयारी गरेको बताइएको छ । 

त्यस्तै अहिले गुगल मेसेजको मुख्य पृष्ठमा ड्राफ्ट मेसेज पनि देखिन्छ । ड्राफ्ट मेसेज भन्नाले तपाईंले कुनै कन्ट्याक्ट छानेर मेसेज टाइप गरेको तर नपठाएको भन्ने बुझिन्छ । मुख्य पृष्ठलाई आकर्षक बनाउन कम्पनीले ड्राफ्ट मेसेजलाई अन्त कतै लुकाउन खोजेको बताइएको छ ।

गुगलले ल्याउने यी फिचरहरू छिट्टै उपलब्ध हुने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: फागुन ८, २०८० १२:१९