close

बिटक्वाइनका लागि गणेश लामा समूहबाट ग्यापुका संस्थापक खड्काको अपहरण !

टेकपाना टेकपाना

फागुन ९, २०८० १५:५७

बिटक्वाइनका लागि गणेश लामा समूहबाट ग्यापुका संस्थापक खड्काको अपहरण !

काठमाडौं । कोरोना लकडाउनको समयमा चर्चामा आएको अनलाइन शपिङ प्लेटफर्म ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले गणेश लामाको समूहले आफूलाई अपहरण गरेको आरोप लगाएका छन् । बुधवार एक विज्ञप्ति जारी गर्दै खड्काले आफूलाई लामाको ग्याङले बिटक्वाइनका लागि अपहरण गरेको दाबी गरेका हुन् । 

विज्ञप्तिमा खड्काले आफूलाई गणेश लामासहितको समूहले सबैभन्दा पहिले बिटक्वाइन र क्रिप्टोकरेन्सीका लागि २३ माघमा अपहरण गरेको उल्लेख गरेका छन् । “२३ पुसमा एक बजे अपहरण गरेपछि उनीहरूले मलाई मेरै गाडीको पछाडिको सिटमा राखे,” टेकपानासँग कुरा गर्दै खड्काले भने, “मसँगै गणेश लामा बस्न आए । म आत्तिंदै किन दाइ, के गर्नु भएको यस्तो भनेपछि, तँ चुप लाग्, तँसँग हाम्रो काम छ भनियो र मलाई सानेपास्थित लन्डन हाउस भन्ने होटेलको कोठामा लगियो ।”

उक्त होटेलमा बन्धक बनाएर भनेको नमाने सिध्याइदिने र उनको परिवार कसैलाई पनि बाँकी नछाड्ने भन्दै धम्की दिइएको उनले सुनाए । खड्काले अगाडि भने, “मेरो फोन र ल्यापटप खोसेर तँसँग भएको क्रिप्टो तुरुन्त ट्रान्सफर गर् भने ।” खड्काका अनुसार अपहरणकारी समूहले उनको फोन दिंदै त्यहाँबाट आफ्नो अकाउन्टमा क्रिप्टोकरेन्सी ट्रान्सफर गर्न भनेका थियो । 

“मसँग बिटक्वाइन छ र त्यो बिटक्वाइन लिंदा म प्रहरीमा पनि जान नसक्ने भन्ने सोचेर उनीहरूले मलाई टार्गेट गरेका थिए,” उनले भने, “मसँग बिटक्वाइन छैन भनेपछि, भाइ के कुरा गरेको हामी पछाडि पुलिस, सीआईबी, अरू मान्छेहरू पनि छन्, सबैलाई पैसा बाँड्नु पर्छ भन्यो ।”

उक्त समूहले मोबाइल हेरेर बिटक्वाइन नभेटेपछि आफूलाई ८-९ घण्टा थुनेर एउटा कागजमा सही छाप गर्न लगाएको खड्काले सुनाए । उनले आफूलाई सो कागजको ब्यहोरा पढ्न समेत नदिइएको दाबी गरे । त्यसको भोलिपल्ट २४ पुसमा काठमाडौं महानगरपालिका १० नम्बर वडा कार्यालय बानेश्वरमा दिउँसो १ बजे कागज दर्ता गर्न आउनुपर्छ भनियो । तर, खड्का दर्ता गर्न गएनन् । 

“मैले बुझे अनुसार त्यो २० करोडको कागज रहेछ र एकजना वकिल बोलाएर लेनदेनको कागज गराइसकेपछि भोलि ५० लाख, अर्को हप्ता ५० लाख दिनु भने । तँ यहाँबाट निस्केपछि परिवार वा पुलिसलाई भनिस् भने राम्रो हुँदैन भनेर धम्की दिए,” उनले थपे । 

उनले आफूलाई जोगाउन साथीहरूसँग ऋण गरेर गणेश लामाले भनेको अकाउन्टमा २५ लाख रुपैयाँ जम्मा गरिदिएको सुनाए । त्यसपछि आफू परिवारसहित नेपाल बाहिर गएको उनको खड्काको भनाइ छ । 

सत्ताधारी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत लामालाई अधिकांशले डन तथा गुन्डा नाइके भनेर समेत चिन्ने गरेका छन् । 

केही समयसम्म आफूले फोन नै अफ गरेर राखेको र त्यसको केही समयपछि आफू उजुरी दिने मानसिकतामा पुगेको उनले सुनाए । त्यसबिच अपहरण गर्ने समूहले मिलापत्र गर्ने, मागेको रकम फिर्ता गरिदिने, कागजात च्यात्ने प्रस्ताव राखे पनि आफूले उजुरी दिएको उनको भनाइ छ । 

“फेरि पनि मलाई जस्तै अपहरण गरी कहीं कतै कसैलाई पनि करकापमा कागज गरेर अपराधीहरूले वडा कार्यालयमा सेटिङ गरेर एकल प्रमाणित गर्न नसकोस् भनेर पनि तत्काल एकल प्रमाणित गरिदिने व्यक्तिलाई समेत कानूनी कारबाहीको दायरामा ल्याउनु जरुरी छ,” उनले भने, “यस्तो जघन्य अपराधलाई समाजबाट निरुत्साहित गर्न पनि उत्तिकै आवश्यक छ ।”

उनले अगाडि भने, “अपहरणकारी अहिले झुटो कुरा गरेर, शक्तिको दुरुपयोग गरी बच्ने प्रपञ्च समेत गरिरहेको बुझ्नमा आएकोले म मिडियामा आएको छु ।” उनले आफू प्रहरी कार्यालयमा उजुरीको अवस्थाबारे बुझ्न गए पनि त्यसलाई गम्भीरतापूर्वक नलिइएको गुनासो गरे । गम्भीरतापूर्वक नलिएपछि सोझै अदालतमा जाने वा पूरक जाहेरी दिने योजना बनाएको कुरा समेत खड्काले सुनाए । 

खड्काले आफूले उपलब्ध गराएको प्रमाणको आधारमा तत्काल पक्राउ पुर्जी जारी गरी आरोपित व्यक्तिलाई पक्राउ गर्न माग गरेका छन् । त्यस्तै उनको अनुपस्थितिमा लामाले भनेको कागजमा रोहबर बसेर  सहीछाप गर्ने बानेश्वर वडा नम्बर १० का वडा अध्यक्षलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने उनको माग छ ।

काँग्रेसबाटै निर्वाचित वडा अध्यक्ष रामकुमार केसीले टेकपानासँग कुरा गर्दै आपसी लेनदेनको कागज गर्ने क्रममा दुवै पक्षबीच सहमति भएको बताए ।  तर केको लेनदेन हो भन्ने विषय भने आफूलाई थाहा नभएको उनको भनाई छ । 

पछिल्लो अध्यावधिक: फागुन ९, २०८० १६:९