close

एनसेलले १० लाखका दरले दिने १८ परियोजनाका लागि १६५ आवेदन

टेकपाना टेकपाना

फागुन ११, २०८० १४:२६

एनसेलले १० लाखका दरले दिने १८ परियोजनाका लागि १६५ आवेदन

काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत आह्वान गरेका ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास परियोजनामा १६५ आवेदन परेका छन् । कम्पनीले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा प्रति परियोजना १० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन लागेको हो ।

जसका लागि देशका सातै प्रदेशबाट उल्लेख्य रूपमा प्रस्ताव प्राप्त भएको कम्पनीले जनाएको छ । एनसेलका अनुसार समुदाय स्तरमा लागू हुने गरी सञ्चालन गरिने यो कार्यक्रमका लागि प्राप्त प्रस्ताव तथा आवेदनको मूल्याङ्कन भइरहेको छ ।

१७ माघसम्मको समय दिएर सातै प्रदेशका इच्छुक गैरनाफामूलक संस्थाबाट आ-आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो । एनसेलका अनुसार देशैभरीबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जीविकोपार्जन लगायतका क्षेत्रमा विकास कार्य गर्न उत्साहजनक रूपमा प्रस्ताव प्राप्त भएका छन् ।

लागु हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दीगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना लगायतका आधारमा कार्यक्रम छानिने कम्पनीले बताएको छ ।

तोकिएको मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रति कार्यक्रम १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस सामाजिक पहल अन्तर्गत कूल १८ आयोजना छानिने छन् र प्रत्येक एक प्रदेशमा दुई आयोजना सञ्चालन हुनेछन् ।

बाँकी चार आयोजना प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यान्वयन गरिने बताइएको छ । दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग पुर्‍याउने प्राथमिकता अनुरूप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।

विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा एक अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।

एनसेलले सबै भन्दा ठूलो करदातामध्ये एकका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्‍याउँदै आएको छ । आफ्नो स्थापना कालदेखि आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीले कर तथा गैरकर गरी तीन खर्ब भन्दा बढी राजस्व सरकारलाई बुझाइसकेको छ ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०८० १४:२६