close

समाचार हुबहु सार्ने १८३ अनलाइन मिडियामाथि कारवाही

टेकपाना टेकपाना

फागुन १६, २०८० २२:१३

समाचार हुबहु सार्ने १८३ अनलाइन मिडियामाथि कारवाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले समाचार हुबहु सार्ने १८३ ओटा अनलाइनलाई कारवाही गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले अनुमति नलिएरै विभिन्न माध्यममा प्रकाशित समाचार हुबहु प्रसारण गरेको भन्दै कारवाही गरेको हो ।

पछिल्लो समय कुनै एक सञ्चार माध्यम वा समाचार एजेन्सीबाट प्रकाशित समाचार हुबहु सार्ने, अनुमति नलिई कुनै अंश वा पूरै सार्ने प्रवृत्ति बाक्लिदै गएकोमा यसतर्फ अनुगमन र कारबाहीलाई तीव्र बनाएको काउन्सिलले जनाएको छ ।

यही क्रममा गत आर्थिक वर्षयता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने तथा अनुमति नलिने १८३ अनलाइन सञ्चार माध्यम तथा वेबपोर्टलमाथि कारवाही गरिएको काउन्सिलकाे विज्ञप्तिमा उल्लेख छ । काउन्सिलका अनुसार कारवाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको छ भने ११ ओटालाई सचेत गराइएको  छ ।

स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिवद्धतासहित जवाफ पेस भएको काउन्सिलले जनाएको छ ।

बुधबार मात्र काउन्सिलले ८९ ओटा मिडियालाई सचेत गराउने निर्णय गरेको छ । “आगामी दिनमा बिना अनुमति हुबहु प्रकाशन नगर्न, नगराउन ध्यानाकर्षण गराउने र पुनः त्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिता बमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको हो,” विज्ञप्तिमा भनिएको छ ।  

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइनको संख्यात्मक मात्र नभइ गुणात्मक वृद्धि गराउन र समाचार चोरी गर्ने प्रवृत्ति रोक्न आगामी दिनमा झन् कडाइ गरिने बताए । “सञ्चारमाध्यमले आफ्नो मौलिक र खोजमूलक प्रस्तुति नदिने हो भने पत्रकारिता फस्टाउन सक्दैन,” उनले भने, “विश्वसनीयता पनि घट्छ । यसतर्फ गम्भीर भई काउन्सिलले अनुगमन, सहजीकरण र कारबाही गर्दै आएको छ ।”

पछिल्लो अध्यावधिक: फागुन १६, २०८० २२:१३