close

एआई ड्रोन, जसले व्यक्ति चिनेर गर्न सक्छ आक्रमण !

टेकपाना टेकपाना

फागुन ३०, २०८० १८:२२

एआई ड्रोन, जसले व्यक्ति चिनेर गर्न सक्छ आक्रमण !

काठमाडौं । सामान्यतः फोटो तथा भिडिओ खिच्न ड्रोन प्रयोग गरिन्छ । त्यस्तै सामानहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन, कृषिजन्य प्रयोजनमा, भौतिक पूर्वाधार निर्माणका काम, उद्धार कार्य, ट्राफिक मनिटरिङ, आगलागी निरीक्षण आदिमा ड्राेन प्रयाेग हुँदै आएको छ ।

पछिल्लो समय युद्धका दाैरान पनि ड्रोन प्रयोग हुन थालेको छ । हालै एक इन्जिनियर तथा उद्यमी लुइस वेनसले ड्रोनमा एआई र फेसियल रिकग्निसन सिस्टम इन्टिग्रेट गरेको भिडिओ सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन् ।

उक्त भिडिओमा उनले सो ड्रोन केही घण्टामै तयार पारेको दाबी गरेका छन् । उक्त ड्रोनमा हतियार राखेर कुनै व्यक्तिमाथि प्रहार गर्न निर्देशन दिए उक्त ड्रोनले सो काम गर्ने उनको भनाइ छ । त्यसैले एआई ड्रोनलाई हतियारका रूपमा प्रयोग गर्ने जोखिम भएको भन्दै सचेत हुन अनुरोध गरेका छन् । 

वेनसले उक्त ड्रोन आफ्ना साथी इन्जिनियर रोबर्ट लुकिस्कोसँग मिलेर डिजाइन गरेका थिए । यस ड्रोनलाई एआईले अब्जेक्ट डिटेक्सन मोडेल प्रयोग गरेर कन्ट्रोल गर्छ । उक्त अब्जेक्ट डिटेक्सन मोडलको सहायताले व्यक्ति पहिचान गर्छ र त्यही व्यक्ति भएको ठाउँतिर फुल स्पिडमा उड्छ ।

भिडिओमा सबैभन्दा पहिले वेनसलाई लुइसका रूपमा एआईले पहिचान गरेको देखाइएको छ । पछि ड्रोन उडाउने ठाउँमा वेनसले ड्रोन लिएर जान्छन् । अनि ड्रोन उनी भएतिरै उड्न थाल्छ । भिडिओमा ड्रोनले कुनै गेममा जस्तो मान्छेलाई लखेटेको देख्न सकिन्छ । सो भिडिओमा उनले यस्तो ड्रोन भिडमा कुनै विशेष व्यक्तिमाथि आक्रमण गर्न प्रयोग हुनसक्ने जनाएका छन् । 

we built an AI-controlled homing/killer drone -- full video pic.twitter.com/xJVlkswKaq

— Luis Wenus (@luiswenus) March 2, 2024

वेनसले यो ड्रोनका लागि तयार पारेको सफ्टवेयर ओपन सोर्स भएको उल्लेख गरेका छन् । एआई विकासमा नकारात्मक पक्षहरू भएपनि, राम्रोले सधैं नराम्रोलाई पछाडि पार्छ भन्ने विश्वासको आधारमा एआई अनुसन्धानलाई नकारात्मक पक्षहरूको प्रवाह नगरी तीव्रता दिनुपर्ने उनको जोड छ । 

यद्यपि यस्तो एआई ड्रोनलाई खतरनाक प्रविधिका रूपमा हेरिएको छ । किनभने यसलाई आतङ्ककारीले आक्रमणका लागि प्रयोग गर्न सक्नेछन् । त्यसैले उनले यस एक्सपेरिमेन्टका कुनै कोड पनि सार्वजनिक नगर्ने प्रतिवद्धता जनाएका छन् ।

पछिल्लो अध्यावधिक: चैत १, २०८० १७:७