काठमाडौं । मोबाइल लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देहीका २५ वर्षीय मनिष हरिजन, २४ वर्षीय देवान गुरुङ, २४ वर्षीय रोमन घर्ती र ३१ वर्षीय मोहम्मद रसिद मुसलमान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीका विभिन्न स्थानमा केही समयदेखि मोटरसाइकलमा आएका व्यक्तिले सर्वसाधारणको हातबाट मोबाइल लुटेर भाग्ने गरेको भन्ने सूचना आएको थियो । यस्ता सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान गर्दा चोरीमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार आरोपित व्यक्तिहरू मोटरसाइकलमा चढेर हातमा फोन बोकेर उभिएका मानिसहरूसामु पुग्थे । अनि केही समस्या परेको बहाना बनाई एक कल फोन गर्छु भन्दै फोन माग्थे । एक्लै हातमा फोन लिएर बसेको व्यक्ति भेटे फिल्मी शैलीमा उसैको नजिकबाट बाइक लिएर जान्थे र हातबाट फोन खोसेर फरार हुन्थे ।
यसरी लुटेका मोबाइल विभिन्न मोबाइल पसलमा बिक्री गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसरी बिक्री गरेर आएको रकमले उनीहरूले विभिन्न किसिमका लागूऔषध खरिद गर्थे ।
उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार कसुरमा जिल्ला अदालत रूपन्देहीमा मुद्दा अगाडि बढाएको प्रहरीले जनाएको छ ।