close

१३३ खर्ब लगानीमा सुपरकम्प्युटर निर्माण हुँदै

टेकपाना टेकपाना

चैत १७, २०८० १६:३५

१३३ खर्ब लगानीमा सुपरकम्प्युटर निर्माण हुँदै

काठमाडौं । प्रविधिको विख्यात कम्पनी माइक्रोसफ्ट र एआईको मुख्य खेलाडी ओपनएआईले शक्तिशाली सुपरकम्प्युटर निर्माण गर्ने भएका छन् । यी कम्पनीले १०० अर्ब डलर (करिब १३३ खर्ब १९ अर्ब ५८ करोड रूपैयाँ) बराबरको सुपरकम्प्युटर बनाउने घोषणा गरेका हुन् ।

एआई सम्बन्धी कामका लागि ‘स्टारगेट’ नामको सुपरकम्प्युटर निर्माण गर्ने महत्त्वाकांक्षी योजना यी कम्पनीले ल्याएका छन् । ​द इन्फर्मेसनका अनुसार यस परियोजनाले एआई सम्बन्धी जछिल काम गर्न आवश्यक पर्ने शक्तिशाली डेटा सेन्टरको पूर्ति गर्नेछ ।

सुपरकम्प्युटर बनाउन अहिलेका डेटा सेन्टरको तुलनामा सय गुणा बढी खर्च हुने र यसका लागि माइक्रोसफ्टले लगानी गर्ने बताइएको छ । 

त्यस्तै यी दुई कम्पनीले संयुक्त रुपमा बनाउने सुपरकम्प्युटरको सिरिजमा स्टारगेटलाई फ्ल्यागशिप प्रोग्रामको रुपमा लिइएको छ । साथै स्टारगेटलाई २०२८ मा सार्वजनिक गर्ने अनुमान छ । 

यद्यपि यो परियोजना एउटा  सिङ्गो नभएर माइक्रोसफ्ट र ओपनएआईले विभाजन गरेको एआई सम्बन्धी पाँच-चरणका योजना मध्येको अन्तिम चरण भएको बताइएको छ । हाल चौंथाे चरण अन्तर्गत यी दुई कम्पनीले अलि सानो आकारको सुपरकम्प्युटर बनाइरहेको छ । त्यसको निर्माण कार्य २०२६ मा सकिने बताइएको छ । 

यस परियोजनाले एआईको सम्भावनालाई अझै अघि बढाउने अनुमान गरिएको छ । हाल माइक्रोसफ्ट र ओपनएआई बाहेक प्रविधिका अन्य ठूला कम्पनी पनि यस दौडमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १७, २०८० १६:४०