close

कोटिभिटी मुद्दाले ७० अर्बको आईटी उद्योग धराशायी हुने अवस्थामा पुग्योः गगन थापा

टेकपाना टेकपाना

चैत २१, २०८० १८:३६

कोटिभिटी मुद्दाले ७० अर्बको आईटी उद्योग धराशायी हुने अवस्थामा पुग्योः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले राजस्व अनुसन्धानको विभागका कर्मचारीहरूले क्षमता नराख्दा ७० अर्ब रुपैयाँको नेपाली सूचना प्रविधिको उद्योग धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा कर्मचारी सेवा सम्बन्धी कानून संघीय निजामती ऐनमाथि बहस गर्दै उनले कर्मचारीहरूमा निरन्तरको सिकाइ नहुँदा यस्तो घटना भएकाे धारणा राखे ।

“राजस्व अनुसन्धान विभागका कर्मचारीहरूले क्षमता नराख्दा कोटिभिटी जस्तो एउटा संस्थालाई दायर गरिएको मुद्दाले ७० अर्ब रुपैयाँको नेपाली सूचना प्रविधिको उद्योग धराशायी हुने अवस्थामा पुगेको छ,” उनले भने । उनले कर्मचारीले नजान्दा, नबुझ्दा यस्तो अवस्था आएको जिकिर गरे । 

राजस्व अनुसन्धान विभागले अमेरिकी लगानी रहेको सफ्टवेयर कम्पनी कोटिभिटी नेपाल प्रालिविरुद्ध राजस्व छली गरेको अभियोगमा गत आइतवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । तर भ्याट कानुनको गलत व्याख्या गर्दै मुद्दा दायर भएको भन्दै यसले नेपालको आईटी सेवा उद्योग धराशायी हुने जोखिम बढाएको टिप्पणी भइरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत २१, २०८० १९:४१