close

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सीमा झण्डा झुकाएको भन्दै सामाजिक सञ्जालमा आलोचना

टेकपाना टेकपाना

चैत २७, २०८० ७:४६

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सीमा झण्डा झुकाएको भन्दै सामाजिक सञ्जालमा आलोचना

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सीको डिजाइनको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वान्टी विश्वकपका लागि भन्दै सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको जर्सीमा राष्ट्रिय झण्डा झुकाइएको भन्दै त्यसलाई सच्याउन माग हुन थालेको हो । 

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आगामी जुन १-२९ सम्म  क्रिकेट विश्वकपमा सहभागी हुने राष्ट्रिय टोलीको जर्सी सार्वजनिक गरेका हुन् । जसमा दुवैतर्फ काँधमा राष्ट्रिय झण्डा उँधो झुकाइएको छ । खेलकुद पोसाक कम्पनी केल्मी नेपालले यो जर्सी तयार पारेको हाे । 

क्यानले फेसबुक, एक्स लगायतका आफ्ना सामाजिक अकाउन्टमा शेयर गरेका पोस्टमा अधिकांशले जर्सीको डिजाइनलाई लिएर आलोचना गरेका छन् । 

त्यस्तै ग्राफिक डिजाइनर आनन्दकुमार महर्जनले डिजाइनमा झन्डा किन झुकाइयो भन्दै प्रश्न गरेका छन् । "नेपालमा राष्ट्रिय शोक घोषणा गर्दा आधा झण्डा झुकाउने चलन रहेछ," जर्सी परिवर्तन गर्नुपर्ने माग राख्दै उनले भनेका छन् । 

एक्समा ‘काले केटो’ नाम गरेका प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्, "जर्सीमा राष्ट्रिय झण्डा झुकाएर राखेछन् अनि देशको शिर कसरी उच्च होस् ?" सरल सुमन नाम गरेका अर्का प्रयोगकर्ताले एक्समा पोस्ट गर्दै जर्सीमा प्रयोग गरिएको राष्ट्रिय झण्डा संविधानको अनुसूची १ को व्यवस्था र त्यसको प्रयोग सम्बन्धी कार्यविधि २०६९ को मूल मर्म विपरीत रहेको भन्दै झण्डा झुकाएर राख्नु कानून विपरीत हुने उल्लेख गरेका छन् । 

त्यसो त हाल प्रयोगमा रहेको राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा समेत त्यसैगरी झण्डा झुकाएर राखिएको छ । तर उक्त जर्सीमा झण्डा प्रस्ट रूपमा नदेखाई त्यसको छायाँ मात्र प्रयोग गरिएको छ । 

पछिल्लो अध्यावधिक: चैत २७, २०८० ७:५९