close

अफिस खोलेरै खुलेआम अनलाइन सट्टेबाजी गर्दै एजेन्टहरू, बाँकेबाट १५ जना पक्राउ

टेकपाना टेकपाना

बैशाख ९, २०८१ १५:५०

अफिस खोलेरै खुलेआम अनलाइन सट्टेबाजी गर्दै एजेन्टहरू, बाँकेबाट १५ जना पक्राउ

काठमाडौं । अफिस खोलेरै खुलेआम अनलाइन सट्टेबाजी गरेको आरोपमा १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई धम्बोझीबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बर्दियाका ३८ वर्षीय बिराज पौडेल, २० वर्षीय सास्वन पाठक, बाँकेका ३८ वर्षीय ईश्वर राणा, ३७ वर्षीय टोपबहादुर थापा रहेका छन् । त्यस्तै मोरङका २५ वर्षीय इसाक लिम्बु, १९ वर्षीय सुदेश राई, २२ वर्षीय रोशन दनुवार पनि पक्राउ परेका छन् । 

त्यसैगरी खोटाङका २७ वर्षीय प्रविण राई, ईलाम ३३ वर्षीय पर्शुराम दीं, सिराहाका २३ वर्षीय राकेशकुमार यादव, पर्साका ३१ वर्षीय सुरेन्द्र चौधरी, उदयपुरका ३२ वर्षीय भास्कर मगर, रुकुम (पश्चिम) का २६ वर्षीय दिपेन्द्र केसी, गोरखाका २९ वर्षीय रूपक कोइराला र पर्वतका ३५ वर्षीय सुन्दर राणालाई पनि प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार धम्बोझीका अयुब हलवाईको घरमा फ्ल्याटमा  कार्यालय खोलेर अवैध अनलाइन सट्टेबाजी गराइ रहेको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धान अगाडि बढेको थियो । सोही क्रममा ती युवाहरूको अफिसमा छापा हान्दा सट्टेबाजी गराइरहेको प्रमाण फेला परेको हो । 

“फ्ल्याट नै लिएर कर्मचारीका रूपमा राखेर एजेन्टको काम गर्ने गरिरहेका छन् भन्ने सूचना प्राप्त भएको थियो,” टेकपानासँग कुरा गर्दै डाँगीले भने, “त्यस लगत्तै हामीले छापा हान्दा उनीहरूले खेलाइरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएका हौं ।”

प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट उक्त टोलीले ट्याब ६६, हिमाबेट र मेटाबेट मार्फत आईपीएलका खेलमा सट्टेबाजी गराउन एजेन्टको भूमिका खेल्दै आएकाे खुलेकाे छ । अवैध गतिविधि भइरहेको सो कार्यालयबाट ५६ थान स्मार्टफोन, १८ थान ल्यापटप, एउटा पीओई स्वीच र चार्जरहरू बरामद गरिएको छ । 

उनीहरूले कति रकमको कारोबार गरेका छन् भन्ने खुलिसकेको छैन । अहिले यही विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ १३:३३