close

६ महिनासम्म एआई सम्बन्धी अनलाइन तालिम दिंदै राष्ट्रिय आविष्कार केन्द्र

टेकपाना टेकपाना

बैशाख ११, २०८१ २०:५

६ महिनासम्म एआई सम्बन्धी अनलाइन तालिम दिंदै राष्ट्रिय आविष्कार केन्द्र

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्र पोखराले ब्लकचेन तथा एआई क्यापासिटी बिल्डिङ विषयमा तालिम सञ्चालन गर्ने भएको छ । मङ्गलबार सामाजिक सञ्जालमा पोस्ट राख्दै केन्द्रका अध्यक्ष महावीर पुनले तालिमबारे जानकारी दिएका हुन् । 

केन्द्रले पोखराको सिम्पानीमा सञ्चालन गरेको आईसीटी इनोभेसन ल्याबमा सो तालिम सञ्चालन गर्नेछ । आईसीटी ल्याब पोखराका कोअर्डिनेटर हरिबहादुर पहारीका अनुसार अहिले ब्लकचेन तथा वेब थ्री डेभलपमेन्ट सम्बन्धी भौतिक कक्षाको कोर्स सुरु भइसकेको छ । यद्यपि ८ हप्तासम्म सञ्चालन हुने सो तालिममा इच्छुक व्यक्ति सहभागी हुन सक्छन् ।

निःशुल्क सञ्चालन हुने ब्लकचेन तालिमका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहाेस् । 

त्यस्तै आईसीटी ल्याबले नै छ महिनासम्मको एआई क्यापासिटी बिल्डिङ सम्बन्धी तालिम सञ्चालन गर्न लागेको छ । अनलाइन माध्यमबाट हुने यस तालिमका लागि भने विद्यार्थीबाट अहिले आठ हजार रुपैयाँ शुल्क लिने गरेको पहारीले सुनाए ।

“छ महिनासम्म सञ्चालन गर्ने भएकाले अहिले हामीलाई अपरेसन कस्ट लाग्छ,” टेकपानासँग कुरा गर्दै पहारीले भने, “यस बापत हामीले अहिले आठ हजार रुपैयाँ लिइरहेका छौं । सहभागी बढ्दै गए यो रकम घट्छ ।”

एआई सम्बन्धी तालिम लिन इच्छुक व्यक्तिले यहाँ क्लिक गरी आवेदन दिन सक्नेछन् ।

पछिल्लो समय आईसीटी ल्याबले विभिन्न किसिमका तालिम आयोजना गर्दै आइरहेकाे छ । यसअघि संस्थाले मोबाइल डेभलपमेन्ट तथा वेब डेभलपमेन्ट सम्बन्धी तालिम सञ्चालन गरेको थियाे ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८१ २०:१८