काठमाडौं । सरकारले अबको दशकलाई सूचना प्रविधिको दशक घोषणा गरेको छ । मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रम अनुसार सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारको रूपमा लिई सामाजिक आर्थिक रूपान्तरण एवं समृद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने भएको हो ।
"सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकसित गरिनेछ," नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति पौडेलले भनेका छन् ।