close

ओपनएआईको नयाँ मोडेलका कारण च्याटजीपीटीको ‘भ्वाइस असिस्टेन्ट’ फिचर डाउन

टेकपाना टेकपाना

जेठ १, २०८१ २१:२४

ओपनएआईको नयाँ मोडेलका कारण च्याटजीपीटीको ‘भ्वाइस असिस्टेन्ट’ फिचर डाउन

काठमाडौं । ओपनएआईले सार्वजनिक गरेको नयाँ मोडेलका कारण ‘भ्वाइस असिस्टेन्ट’ फिचर डाउन भएको छ । कम्पनीले सोमबार एक कार्यक्रम गर्दै जीपीटी-४ओ (GPT-4o) नामक नयाँ मोडेल सार्वजनिक गरेको थियो । 

सार्वजनिक भए लगत्तै उक्त मोडेल सबै प्रयोगकर्तामाझ उपलब्ध गराउन थालेको कम्पनीले भनाइ छ । तर, अहिले सामान्य ‘भ्वाइस असिस्टेन्ट’ फिचर पनि डाउन भएको छ । निःशुल्क उपलब्ध हुने जीपीटी-३.५ मा अहिले भ्वाइस असिस्टेन्टले काम गरिरहेको छैन । कम्पनीले सोमबार सार्वजनिक गरेको नयाँ फिचर उपलब्ध गराइसकेको दाबी गरेपनि उक्त एपमा भएको पुरानै फिचर डाउन भएको छ । 

सामाजिक सञ्चाल एक्समा कतिपय प्रयोगकर्ताले च्याटजीपीटी लगइन गर्नमा पनि समस्या आएको दाबी गरेका छन् । 

के छ सोमबार सार्वजनिक भएको जीपीटी-४ओ (GPT-4o) मोडेलमा ?

पहिले जसरी च्याटजीपीटीले प्रयोगकर्तासँग अन्तर्क्रिया गर्थ्यो, त्यसैलाई नै कम्पनीले नयाँ मोडेलमा परिमार्जन गरेको छ । यसअघिको मोडेलमा च्याटजीपीटीले मानिसकै शैलीमा कुरा गरेपनि कस्तो भावमा कुरा गरिरहेको छ भन्ने थाहा पाउन सकिंदैनथ्यो । अर्थात् कुरा गर्ने शैली एउटै थियो । अब भने प्रयोगकर्ताले जस्तो भाव (हाँसो, दुःख, खुसी, प्रेमिल) भने च्याटजीपीटीले त्यस्तै भावमा कुरा गर्न सक्ने कम्पनीको दाबी छ । 

यतिबेला सामाजिक सञ्जालमा ओपनएआईले एक्समा सार्वजनिक गरेको एउटा डेमो भिडिओले बढी चर्चा पाएको छ । त्यस भिडिओमा च्याटजीपीटीले वास्तविक समयमा कसरी कसरी भाषा अनुवाद गर्छ भन्ने देखाइएको छ । गत वर्ष सामसङले सार्वजनिक गरेको ग्यालेक्सी एस २४ सिरिजमा पनि ‘लाइभ कल ट्रान्सलेटर’ फिचरको चर्चा भएको थियो ।

ओपनएआईले सार्वजनिक गरेको डेमोमा भने अनुवाद वास्तविक मान्छेले नै गरिदिएको अनुभव हुने प्रयोगकर्ताको प्रतिक्रिया छ । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानका अनुसार आगामी सातादेखि यो फिचर सम्पूर्ण च्याटजीपीटी प्लस प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् ।  

त्यस्तै च्याटजीपीटीको नयाँ मोडेलमा ‘भिजन क्यापाबिलिटिज’ पनि थपिएको छ । यो त्यस्तो फिचर हो, जसमा क्यामेरा खुल्छ । र, च्याटजीपीटीसँग भिडिओमा अन्तर्क्रिया गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८१ २१:२४