काठमाडौं । नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाको पक्षमा बोलेपछि सामाजिक सञ्जालमा आलोचित बनेका महजोडीले माफी मागेका छन् । सोमबार सामाजिक सञ्जालमा एक भिडिओ राख्दै महजोडीले दर्शकसँग माफी मागेका हुन् ।
“हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौं,” कलाकार मदनकृष्ण श्रेष्ठले भनेका छन्, “त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ । एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि अकमकियौं के बोल्ने कसो बोल्ने भनेर ।”
अपर्झट किसिमले बोल्दाखेरी आफूहरूबाट त्रुटि हुन गएको महसुस गरेको भन्दै श्रेष्ठले क्षमायाचना गरेका छन् । “अदालतमा विचाराधीन भएको मुद्दाको विषयमा हामीले नबोलेको भए नि हुन्थ्यो,” कलाकार हरिवंश आचार्यले भनेका छन्, “यो हामीबाट त्रुटि भयो ।”
त्यसका लागि दर्शकले आफूहरूलाई आफ्नै मान्छे सम्झेर माफ गरिदिन अनुरोध गरेका छन् ।