close

पब्जी प्रतियोगिता पीएमएसएलमा आजदेखि दोस्रो साताको खेल हुँदै, कस्तो छ नेपाली टिमको प्रदर्शन ?

टेकपाना टेकपाना

जेठ १६, २०८१ १२:२५

पब्जी प्रतियोगिता पीएमएसएलमा आजदेखि दोस्रो साताको खेल हुँदै, कस्तो छ नेपाली टिमको प्रदर्शन ?

 

काठमाडौं । नेपालमै भइरहेको पब्जी प्रतियोगिता ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४’ अन्तर्गत दोस्रो साताको लिग चरणको खेल आजदखि सुरु हुँदैछ ।

पहिलो सातामा नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले उत्कृष्ट प्रदर्शन गरेको छ । ‘डीआरएस गेमिङ’ले २४ गेम मध्य तीन गेममा चिकेन डिनर गर्दै कुल २०४ पोइन्ट ल्याएको छ । अर्को नेपाली टिम ‘होरा ई-स्पोर्ट्स’ १४० पोइन्ट ल्याएर अङ्क तालिकाको आठौं स्थानमा रहेको छ । अङ्क तालिकाको दोस्रो र तेस्रो स्थानमा क्रमश: मङ्गोलियन टिम ‘फाल्कोन फोर्स’ र ‘फोर मिराकल भाइब्स’ रहेको छ । 

पहिलो साताको खेल सकिएसँगै अङ्क तालिकाको स्थानको आधारमा टिमहरुले बोनस पोइन्ट पाएका छन् । पहिलो स्थानमा रहेको ‘डीआरएस गेमिङ’ले २० बोनस पोइन्ट पाएको छ भने अङ्क तालिकाको पुच्छरमा रहेको  बङ्गलादेशको टिम ‘केएस एक्स’ले एक बोनस पोइन्ट पाएको छ ।

बोनस पोइन्ट अङ्क तालिकाको स्थान बढ्दा बढ्दै जानेछ । यसरी तीन साता तीन पटक र तीन साताको बोनस पोइन्टको आधारमा चौंथो पटक बोनस पोइन्ट दिइने छ । यसरी दिएको बोनस पोइन्टको ५० प्रतिशत पोइन्ट लिएर टिमले फाइनलको यात्रा सुरु गर्नेछन् । फाइनलमा कुल १६ टिमले भिड्नेछन् । जसको निर्धारण तीन साताको खेलको अङ्क तालिकाले गर्नेछ । 

यो प्रतियोगितामा नेपाल बङ्गलादेश, पाकिस्तान, उज्वेकिस्तान, युक्रेन, रसिया र मङ्गोलियाको टिम सहित कुल २० टिमले खेल्दैछन् । नेपालबाट दुई टिम मात्र यो प्रतियोगिता खेल्दैछन् । होरा ई-स्पोर्ट्सले साउथ एसिया क्वालिफायर खेलेर यो प्रतियोगितामा छनोट भएको हो भने डीआरएस आमन्त्रित टिमको रूपमा प्रतियोगिता खेल्दैछ । 

यो प्रतियोगिताको लिग चरणको लागि ४० हजार डलर(करिब ५३ लाख ३५ हजार रुपैयाँ ) पुरस्कार राशि राखिएको छ भने फाइनलको लागि करिब एक करोड ५३ लाख ३८ हजार रुपैयाँ पुरस्कार राशि छ । यसबाहेक हरेक चिकेन डिनर र हप्तासँगै प्रतियोगिताको मस्ट भ्यालुएबल खेलाडीलाई पनि पुरस्कार दिइने छ ।

यो प्रतियोगितामा शीर्ष चार भित्र पर्ने टिमले ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को समूह चरणमा स्थान बनाउने छन् भने पाँचौं स्थानमा रहने टिमले ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को सर्भाइबल चरणमा खेल्न पाउनेछन् ।

दिउँसाे ४:४५ देखि सुरु हुने खेलको लाइभ ‘पब्जी मोबाइल ई-स्पोर्ट्स’को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८१ १२:३१