close

सामाजिक सञ्जालमा भाइरल भइरहेको ‘अल आइज् अन रफाह’ के हो ?

टेकपाना टेकपाना

जेठ १८, २०८१ १२:४६

सामाजिक सञ्जालमा भाइरल भइरहेको ‘अल आइज् अन रफाह’ के हो ?

काठमाडौं । पछिल्लो केही दिनयता तपाईंले सामाजिक सञ्जालमा ‘अल आइज् अन रफाह’ लेखेको ग्राफिक्स देख्नु भएको होला । विशेष गरेर यो ग्राफिक्स इन्स्टाग्रामको स्टोरीमा भाइरल भइरहेको छ । फेसबुक, टिकटक, थ्रेड्स, एक्स, रेडिट लगायतका सामाजिक सञ्जालमा पनि उत्तिकै शेयर भइरहेको छ । 

नेपालका थुप्रै सेलिब्रेटीहरूले समेत इन्स्टाग्राम लगायतका प्लेटफर्ममा यो पोस्ट शेयर गरेका छन् । हालसम्म चार करोड १० लाख बढी इन्स्टाग्राम अकाउन्टबाट यो पोस्ट शेयर भइसकेको छ । 

प्यालेस्टाइनको दक्षिणी गाजामा अवस्थित रफाह सहरमा भएको इजरायली दमन विरुद्ध खबरदारी गर्न उक्त स्टोरी पोस्ट गरिएको हो । उक्त ठाउँमा अहिले इजरायलले आफ्नो आक्रमणलाई झनै तीव्रता दिएको छ ।

आइतबार भएको इजरायली हवाई आक्रमणमा ४५ जनाले ज्यान गुमाएका छन् भने २०० बढी घाइते भएका छन् । बढी जनघनत्व भएको रफाहमा यसरी इजरायली सेनाले आक्रमण बढाएपछि ‘अल आइज् अन रफाह’ नारा सहितको पोस्ट सामाजिक सञ्जालमा भाइरल हुन थालेको हो ।

अहिले यो पोस्ट पश्चिमी युरोप, अष्ट्रेलिया, एसिया लगायतका प्रयोगकर्ताले शेयर गरिरहेका छन् । तर यो हालसालै सुरु भएको अभियान होइन ।

यो नारा पहिलो पटक विश्व स्वास्थ्य संगठनको अफिस अफ ओक्पाइड प्यालेस्टाइनी क्षेत्रका निर्देशक रिक पिपरकोर्नको भनाइबाट आएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्ध लड्न ग्रीन सिग्नल दिएपछि पिपरकोर्नले गत फेब्रुअरीमा प्रतिक्रिया जनाउँदै ‘अल आइज् अन रफाह’ भनेका थिए । 

यो वाक्यांशले मानव जातिलाई रफाह सहरमा भइरहेको कुराबाट नपन्छिन र इजरायललाई सर्तकता गराएको बुझ्न सकिन्छ । इजरायलले गाजामा आक्रमण गर्न थालेपछि हालसम्म यस ठाउँमा १४ लाख मानिसहरू अन्यत्र सरेको बताइन्छ ।

सेभ द चिल्ड्रेन, अक्सफाम, अमेरिकन्स फर जस्टिस इन प्यालेस्टाइन एक्सन, ज्यूस भ्वाइस फर पिस, प्यालेस्टाइन सोलिडारिटी क्याम्पेन जस्ता संस्था र लबिङ समूहहरूले त्यसपछि उक्त वाक्यांक्शलाई लगातार दोहोर्‍याइरहे । यसका साथै पेरिस, लण्डन, न्यू योर्क, लस एन्जलस लगायतका सहरमा भएको विरोध प्रदर्शनमा पनि प्रत्यक्ष रूपमा प्रयोग भइरह्यो ।

यसै हप्तामात्र अष्ट्रेलियाली क्रिकेटर ट्राभिस हेड, बेलायती गायिका लेह एन पिनोक, मोडेल बेला हदीद र अभिनेत्रीहरू साओइर्से-मोनिका ज्याक्सन र सुसान सरन्डनले आफ्नो इन्स्टाग्राम स्टोरीमा यो वाक्यांश भएको फोटो शेयर गरे ।

त्यस्तै वरुण धवन, अली गोनी, सामन्था रुथ प्रभु, तृप्ती डिमरी लगायत भारतीय सेलिब्रेटीहरूले पनि शेयर गरे । त्यसपछि नेपालमा पनि यो पोस्ट शेयर हुन थालेको हाे ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८१ १३:२