एप्पलभन्दा मूल्यवान् कम्पनी एनभिदियाका संस्थापक भन्छन्ः रमाइलो लाग्ने काम, काम नै होइन
जेठ २८, २०८१ १९:५३
काठमाडौं । हालै सार्वजनिक एक अन्तर्वार्तामा ३० खर्ब डलर मूल्य पुगेको विश्वकै दोस्रो मूल्यवान् कम्पनी एनभिदिया संस्थापक तथा सीईओ जेन्सेन हुआङ्गले काम प्रतिको आफ्नो रोचक दृष्टिकोण सार्वजनिक गरेका छन् । त्यस क्रममा उनले काम नपरे पनि आफू बिहान ५ बजे नै उठ्ने गरेको बताएका छन् ।
स्ट्राइपका सीईओ प्याट्रिक कोलिजनसँगको अन्तर्वार्तामा हुआङ्गले आफू हरेक दिन आफ्नै कामबारे सोचिरहने भन्दै व्यक्तिगत सन्दर्भ खुलाएका हुन् ।
“म उठेदेखि सुत्ने बेलासम्म काम गर्छु,” ६१ वर्षीय हुआङ्गले भने, “र, म हप्ताको सातै दिन काम गर्छु । काम नगर्दा म कामबारे नै सोचिरहन्छु । काम गर्दा त काम गरिरहेकै भइहाल्यो ।”
बिहान ५ बजे उठेपछि उनी छ बजेसम्म पढ्न रुचाउँछन् । “म ५ बजे उठ्ने गर्थें । तर अचेल म मेरो कुकुरको कारणले गर्दा ६ बजे उठ्छु,” उनले भनेका छन्, “मलाई कसैले ब्युँझाउँदा त्यस्तो कुनै आपत्ति हुँदैन । तर, मैले गर्दा कोही ब्युँझियो भने मलाई पछुतो लाग्छ ।”
‘जुन कामले तपाईंलाई सधैं खुसी दिन्छ, त्यो नै संसारको सबैभन्दा उत्कृष्ट काम हो,’ भन्ने भनाइमा हुआङ्ग सहमत छैनन् । उनको विचारमा जहाँ सङ्घर्ष र कष्ट हुँदा कदर हुन्छ, त्यो नै उत्कृष्ट काम हो । आफूलाई रमाइलो लाग्ने वा आनन्द महसुस हुने काम वास्तवमा काम नै होइनन् ।
few have the grindset required to even step in the ring with this man 😹 pic.twitter.com/jSaP4pf1e6
— bayes (@bayeslord) June 4, 2024
“तपाईंले केही राम्रो चिज बनाउन चाहनु भयो भने त्यो तपाईंका लागि त्यो त्यति सजिलो हुँदैन,” उनले भनेका छन्, “यदि तपाईं सजिलै गर्न नसकिने काम गर्दै हुनुहुन्छ भने सधैं त्यो काममा तपाईंलाई रमाइलो नलाग्न सक्छ । मलाई हरेक दिनको मेरो काम मन परेको हुँदैन । हरेक दिनको कामले सधैं मलाई आनन्द दिन्छ भन्ने पनि हुँदैन । कामले दिने आनन्दले नै राम्रो दिनको परिभाषा दिन्छ भन्ने पनि हुँदैन । कुरा यत्ति हो कि मलाई हरेक सेकेन्ड मेरो कम्पनी मन पर्छ ।”
सफलताका लागि कडा परिस्थिति र दुःख सामना गर्न सक्नु पर्ने उनको तर्क छ । “यो कसरी हासिल गर्न सकिन्छ भन्ने सिकाउन मलाई आउँदैन,” उनले उल्लेख गरेका छन्, “तर, कठिन समय, परिस्थिति र अवस्थाबाट गुज्रिंदा तपाईंले त्यो कुरा अवश्य सिक्नु हुनेछ भन्नेमा म विश्वस्त छु ।"
फोर्ब्सका अनुसार एनभिदियामा सबैभन्दा लामो समयसम्म सीईओको भूमिकामा रहेका हुआङ्गको कूल सम्पत्ति १०५.८ अर्ब डलर रहेको छ ।
पछिल्लो अध्यावधिक: जेठ २८, २०८१ १९:५७
