close

एलन मस्कले फिर्ता लिए ओपनएआई विरुद्धको मुद्दा

टेकपाना टेकपाना

जेठ ३१, २०८१ १३:२४

एलन मस्कले फिर्ता लिए ओपनएआई विरुद्धको मुद्दा

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले ओपनएआई विरुद्धको मुद्दा फिर्ता लिएका छन् । विगत केही महिनादेखि एआई स्टार्टअप ओपनएआई र त्यसका सीईओ साम अल्टम्यान विरुद्ध कानूनी लडाईं लड्दै आएका मस्कले मङ्गलबार मुद्दा फिर्ता लिएका हुन् । 

सन् २०१५ मा ओपनएआईमा सह-संस्थापक समेत रहेका मस्कले गत फेब्रुअरीमा मुद्दा दायर गरेका थिए । विशेषगरी आफूहरूले सुरुवातमा जुन उद्देश्यले कम्पनी स्थापना गरेको, पछिल्लो समय त्यसको विरुद्धमा गएको उनको आरोप थियो ।

च्याटजीपीटी निर्माता कम्पनी ओपनएआई आफ्नो उद्देश्य विपरीत गई नाफामुखी हुन खोजिरहेको र  मानवताको हित विपरीत निजी ग्राहकका लागि काम गरिरहेको भन्दै मस्क ओपनएआईबाट रुष्ट थिए । 

मुद्दामा  कम्पनीका सीईओ अल्टम्यान र सह-संस्थापक तथा अध्यक्ष ग्रेग ब्रोकम्यानले व्यापारबाट प्राप्त गरेको कुनै पनि मुनाफा फिर्ता गर्नुपर्ने माग गरिएको थियो । 

त्यसलगत्तै ओपनएआईले मस्कको दाबी गलत भएको भन्दै मुद्दा रद्द गर्नका लागि मुद्दा हालेको थियो । कम्पनीले त्यसबखत ब्लग पनि प्रकाशन गरेको थियो । सो ब्लगमा मस्कका ईमेलहरू पनि राखिएको थियो । उक्त ईमेलमा मस्कले “कम्पनीले आफ्नो एआई महत्वाकाङ्क्षालाई पूरा गर्न आवश्यक कम्प्युटिङ स्रोतहरूका लागि ठूलो रकम जुटाउनु आवश्यक छ,” भनेर लेखेकाे ओपनएआईले उल्लेख गरेकाे छ ।

त्यसैले मस्कले दाबी गरेको जस्तो कम्पनी मुनाफा कमाउन भन्दा पनि आवश्यक स्रोतका लागि रकम जुटाउन लागिपरेको उक्त ब्लगमा उल्लेख थियो । र, मस्कले मुद्दामा दाबी गरेको जस्तो मुनाफा कमाउने लक्ष्य नरहेको ओपनएआईको भनाइ थियो । 

मस्कका तर्फबाट वकिलले मुद्दा फिर्ता लिएका हुन् । तर किन फिर्ता लिए भन्ने विषयको कारण भने खुलेकाे छैन । बुधबार मस्कको मुद्दामा सुनवाई हुने भनिएको थियो, तर उनको टोलीले मङ्गलबार नै मुद्दा फिर्ता लिएको सीएनएनले उल्लेख गरेको छ । 

पछिल्ला केही दिनदेखि मस्क ओपनएआई र एप्पलको विरोध गर्दै आइरहेका थिए । हालै सम्पन्न वर्ल्डवाइड डेभलपर कन्फेरेन्समा एप्पलले ओपनएआईसँग सहकार्यको घोषणा गरेको थियो ।

विशेषगरी एप्पलको अपरेटिङ सिस्टममा ओपनएआई इन्टिग्रेट गर्ने एप्पलको भनाइ छ । एप्पलले आफ्ना प्रयोगकर्ताको डेटा ओपनएआईको हातमा पार्न लागेको भन्दै मस्कले चर्को विरोध गर्दै आएका छन् । यतिसम्म कि उनले आफ्नो कम्पनीमा एप्पलका प्रडक्टलाई प्रतिबन्ध लगाउने चेतावनी नै दिएका छन् । 

मस्कले बारम्बार ओपनएआई नाफामुखी हुन खोजेको र मानवताको हित विपरीत गइरहेको आरोप लगाउँदै आए पनि ओपनएआई भने आफ्नै तरिकाले अगाडि बढिरहेको छ ।

सन् २०१८ मा ओपनएआईको बोर्डबाट मस्क निस्किएका थिए । त्यसको केही समयसम्म उनले आर्थिक सहयोग गरिरहे । तर, पछि कुनै पनि रूपमा उनी त्यसमा संलग्न रहेनन् । त्यसपछिका दिनका कम्पनीले च्याटजीपीटी जस्तो टुल निर्माण गर्‍यो । त्यसैले उनी ओपनएआई विरुद्ध गएको कम्पनीको आरोप छ ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८१ १३:२४