close

ओमोडा बिजुली गाडी किन्न ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिँदै नबिल बैंक

टेकपाना टेकपाना

जेठ ३२, २०८१ २०:४

ओमोडा बिजुली गाडी किन्न ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिँदै नबिल बैंक

काठमाडौं । नेपालको लागि ओमोडा विद्युतीय गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नबिल बैंक लिमिटेडसँग सवारी साधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि सहकार्य गरेको छ । हालै भएको यस सहकार्य अनुसार ओमोडाको जुनसुकै विद्युतीय गाडीको खरिदमा नबिल बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ उपलब्ध गराउने छ ।

ग्राहकले देशभर रहेका ओमोडा शोरुम तथा आधिकारिक डिलर नेटवर्कमार्फत फाइनान्सिङ सुविधा लिन सक्ने बताइएको छ । सम्झौताअनुसार ग्राहकले नबिल बैंकका सबै शाखाबाट पाँच वर्षका लागि ९.९९ प्रतिशत र सात वर्षका लागि १०.४९ प्रतिशतको ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

यस योजनामार्फत नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिका बमोजिम कर्जा प्रवाह गरिने भने निश्चित ब्याजदर अंक नबिल बैंकको नीतिअनुरूप परिवर्तन हुन सक्ने जनाइएको छ । ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरी सजिलै ओमोडाको कुनै पनि गाडीको खरिद गर्न सक्ने एसपीजी अटोमोबाइल्सले जनाएको छ ।

यो सुविधा ओमोडाका भक्तपुर, इटहरी, बिर्तामोड, विराटनगर, जनकपुर, बर्दिवास, विरगञ्ज, नारायणघाट, बुटवल, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र पोखराका डिलर नेटवर्कमा उपलब्ध हुनेछ । 
 
एसपीजी अटोमोबाइल्सले पछिल्लो पटक नेपाली बजारमा ओमोडा ई फाइभ गाडी भित्र्याएको छ, जसको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ (सिङ्गल टोन) तथा ६२ लाख ४९ हजार (डुअल टोन) कायम गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८१ १०:४४