close

सिनेमाघर एपमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’

टेकपाना टेकपाना

असार १, २०८१ १७:१७

सिनेमाघर एपमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’

काठमाडौं । दिपेन्द्र के. खनालद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ नेपाली ओटीटी प्लेटफर्म सिनेमाघरमा रिलिज भएको छ । विश्वभरबाट हेर्न सकिने गरी आज शनिबार यो चलचित्र सिनेमाघरमा रिलिज भएको हो । 

सिनेमाघरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर खरेलका अनुसार यो चलचित्र नेपालबाट १९९ रुपैयाँ र नेपाल बाहिरबाट दुई डलर भुक्तानी गरेर हेर्न सकिने छ । २०१६ मा रिलिज भएको पशुपति प्रसादको सिक्वेलका रूपमा यो चलचित्र गत दशैंमा हलमा लागेको थियो । त्यसबखत हलमा गएर फिल्म हेर्न नपाएकाले अब सिनेमाघरमार्फत हेर्न सक्नेछन् ।

चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतको अभिनय छ । 

सन् २०१६ मा सुरु भएको सिनेमाघर एपमा २०२० देखि सब्स्क्रिप्सनको आधारमा फिल्म हेर्न सकिने फिचर ल्याइएको थियो । पछि सब्स्क्रिप्सन अनुसार कन्टेन्ट उपलब्ध गराउन नसकेपछि ‘पे पर कन्टेन्ट’ फिचर ल्याइयाे ।

अहिले यस प्लेटफर्ममा जारी, महापुरुष, कबड्डी ४, प्रेमगन्ज, दोख, मिसिङ ब्राइड, जय भोले, रोमियो एन्ड मुना, गरुड पुराण, रातो टीका निधारमा, चपली हाइट ३ लगायतका चलचित्र आइसकेका छन् । अब १ साउनमा हिजोआजका कुरा चलचित्र रिलिज हुने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असार १, २०८१ १७:१९