काठमाडौं । माइक्रोसफ्ट र एप्पललाई पछि पार्दै एकाएक विश्वकै मूल्यवान कम्पनी बनेको एनभिदियाले तीन दिनमै ६४६ अर्ब डलर (८५९ खर्ब १८ अर्ब रुपैयाँ बढी) गुमाएको छ । शेयरमा भारी गिरावट आउँदा चिप निर्माता कम्पनी एनभिदियाको बजार मूल्य २९ खर्ब १० अर्ब डलरमा खुम्चिएको छ ।
ब्लुम्बर्गका अनुसार कुनै पनि कम्पनीले शेयर मूल्यमा यति ठूलो गिरावट भाेगेको यो इतिहासकै पहिलो घटना हो । शेयर मूल्य घट्दा अहिले एनभिदिया मूल्यवान कम्पनीकाे सूचीमा तेस्रो स्थानमा झरेको छ ।
३३ खर्ब २७ अर्ब डलर बजार मूल्यका साथ माइक्रोसफ्ट शीर्ष स्थानमा छ । त्यस्तै ३१ खर्ब ९१ अर्ब डलरका साथ एप्पल दोस्रो स्थानमा उक्लिएको छ ।
पछिल्लो तीन दिनमा मात्रै एनभिदियाकाे शेयर मूल्य १३ प्रतिशतले घटेको ब्लुम्बर्गले जनाएको छ ।
मे २०२३ मा एनभिदिया १० खर्ब डलर बराबरको कम्पनी बनेको थियो । त्यसपछि गत फेब्रुअरीमा मात्र यस कम्पनीको मूल्य २० खर्ब डलर पुगेको थियो । त्यसको चार महिनामै कम्पनीको शेयर मूल्य १३ खर्ब डलरले बढेर हालै ३३ खर्ब डलर बढी पुगेको थियो ।