close

एनसेलको र्‍यापिड रेस्पोन्स टोलीले काम थाल्यो, मोबाइल सेवा अवरुद्ध भए तत्काल समाधान गर्ने

टेकपाना टेकपाना

असार १५, २०८१ १५:२५

एनसेलको र्‍यापिड रेस्पोन्स टोलीले काम थाल्यो, मोबाइल सेवा अवरुद्ध भए तत्काल समाधान गर्ने

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक एनसेलको र्‍यापिड रेस्पोन्स टोली (आरआरटी)ले काम थालेको छ । विपद्को पूर्वतयारी र प्रतिकार्यको लागि गठित आरआरटी टोलीले काम थालेको एनसेलले जनाएको हो । ​हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवाप्रवाहमा असर परे छोटो समयमै यो टिमले सेवा पुनः सञ्चालनमा ल्याउने कम्पनीको भनाइ छ ।

मनसुनजन्य प्रकोपहरूका कारण दूरसञ्चार सेवामा हुन सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरूलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिबद्धता बमोजिम प्रत्येक जिल्लामा आरआरटी गठन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हावाहुरी र भारी वर्षाले १२ असारमा कोसी, मधेस र गण्डकी प्रदेशका १५ भन्दा बढी जिल्लाका ११६ मोबाइल टावर सञ्चालनमा असर परेको थियो । तर आरआरटी टोलीमार्फत साढे चार घण्टाभित्रमै ७० प्रतिशतभन्दा बढी टावरहरूलाई पुनः सञ्चालनमा ल्याइएको थियो । 

आरआरटी टोलीलाई आपत्कालीन अवस्थाहरूमा सकेसम्म चाँडो सेवा पुनः सुचारु गर्न तालिम दिइएको छ ।

त्यस्तै एनसेलले विपद् पूर्वतयारी स्वरूप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको बताएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सञ्चालन गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ छ । 

यसका साथै विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्यनजर गरेर आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको कम्पनीको भनाइ छ ।

नेपालमा बाढी र पहिरोको सम्भावित जोखिमबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले एसएमएस अलर्ट पठाउँदै आएको छ ।

विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढी सम्बन्धी पूर्वसूचना लिन सकिने छ ।

पछिल्लो अध्यावधिक: असार १५, २०८१ १५:३७