काठमाडौं । श्रीलङ्काले स्याटलाइट इन्टरनेट प्रविधि भित्र्याउन २८ वर्ष पुरानो दूरसञ्चार ऐन परिवर्तन गरेको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिंघेले सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै संसदबाट नयाँ दूरसञ्चार ऐन स्वीकृत भएको बताएका हुन् ।
संसदबाट नयाँ दूरसञ्चार ऐन स्वीकृत भएसँगै श्रीलङ्काले तीन वर्गको लाइसेन्स वितरण गर्ने भएको छ । त्यसमा स्याटलाइट इन्टरनेट सेवाको लाइसेन्स पनि समावेश छ । यससँगै अर्बपति उद्यमी एलन मस्कको स्याटलाइट प्रविधिमा आधारित स्टारलिङ्क इन्टननेटले श्रीलङ्कामा सहजै अनुमति पाउने भएको छ ।
संशोधित ऐन स्वीकृत भएसँगै यो कदमले इन्टरनेट कनेक्टिभिटीको क्षेत्रमा क्रान्ति ल्याउने राष्ट्रपति विक्रमासिंघेले बताएका छन् । विशेषगरी तीव्र गतिको स्याटलाइट इन्टरनेटले युवामाझ विश्वव्यापी शिक्षाको स्रोतमा पहुँच पुर्याउन मद्दत गर्ने उनको विश्वास छ । मत्स्य व्यवसायमा पनि स्याटलाइट इन्टरनेट बरदान हुने उनले उल्लेख गरेका छन् ।
त्यस्तै ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच हुने भएकाले देशको अर्थतन्त्रमा समेत सहयोग पुग्ने तथा प्राकृतिक विपद्को समयमा पनि आम नागरिकलाई आपतकालीन सञ्चारका लागि स्याटलाइट इन्टरनेट उपयोगी हुने उनको विश्वास छ ।
TRCSL has given the green light for Starlink to launch satellite internet services in Sri Lanka, pending a two-week public consultation period. This development will revolutionise our connectivity, opening up new horizons, especially for our youth. With faster and more reliable…
श्रीलङ्काका प्रविधिमन्त्री कनक्का हेराथका अनुसार गत मार्चमा स्टारलिङ्कले अनुमति पत्र जारी गर्नका लागि मन्त्रालयलाई अनुरोध गरेको थियो । श्रीलङ्काले स्टारलिङ्कको अनुरोधलाई प्राथमिकतामा राखेर ऐन संशोधनको तयारी अगाडि बढाएको थियो ।
ऐन संशोधन भएसँगै स्टारलिङ्कले अनुमतिपत्र पाउने निश्चित भएको छ । अनुमति पाएसँगै स्टारलिङ्कले लाइसेन्सका लागि ट्यारिफ तिर्नुपर्ने हुन्छ । उक्त ट्यारिफको शुल्क त्यहाँको दूरसञ्चार नियामकले जारी गर्नेछ ।
“सबै ठाउँमा टेलिकम टावर बनाउन थुप्रै चुनौती छन् । तर स्टारलिङ्कले तीव्र गतिमा इन्टरनेटको पहुँच वृद्धि गर्नेछ । विशेषगरी आर्थिक वृद्धि र ग्रामीण भेगमा इन्टरनेट पुर्याउन यो कदम उपयुक्त हुने विश्वास छ,” मन्त्री हेराथले भने ।