close

गुगलको निःशुल्क १५ जीबी स्टोरेज फुल भयो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

साउन १, २०८१ ११:४३

गुगलको निःशुल्क १५ जीबी स्टोरेज फुल भयो ? यसो गर्नुहोस्

काठमाडौं । अहिलेको अवस्थामा गुगल अकाउन्टमा जम्मा १५ जीबीमात्र निःशुल्क स्टोरेज उपलब्ध छ । जुन लगातार अनलाइनमा काम गरिरहने व्यक्तिका लागि पर्याप्त नहुन सक्छ । प्राय: गुगल ड्राइभमा हरेकजसो फाइल राख्न मिल्ने भएकाले यो चाँडै भरिन्छ ।

सामान्य भाषामा बुझ्दा गुगल स्टोरेज भनेको घरको दराज जस्तै हो । सामान राख्दै गरेपछि एक दिन दराज भरिन्छ । त्यसो हुँदा कि त नयाँ दराज किन्नुपर्छ अथवा दराजमा भएका सामान हटाउनु पर्छ ।

हुन त नयाँ जिमेल अकाउन्ट बनाउनासाथ पुन: १५ जीबी नि:शुल्क स्टोरेज पाइन्छ । तर पहिलेको मेलमा महत्त्वपूर्ण डेटा हुने भएकाले कतिपयले अतिरिक्त स्टोरेजका लागि पैसा तिर्ने गर्छन् । यसका लागि गुगल वन प्लान रहेको छ । तर तपाईंले केही उपाय अपनाउनु भयो भने स्टोरेजका लागि अतिरिक्त शुल्क तिरिरहनु पर्दैन । आज हामी त्यस्तै केही उपायहरूबारे चर्चा गर्ने छौं:

१. ठूला फाइल डिलिट गर्नु 

साना आकारका धेरै फाइल डिलिट गर्नुभन्दा पनि ठूला आकारका थोरै फाइल डिलिट गरेर चाँडै भरिएको स्टोरेज खाली गर्न सकिन्छ । यसका लागि तपाईंले निम्न उपाय अपनाउन सक्नुहुन्छ: 

ल्यापटप/डेस्कटप

-गुगल ड्राइभमा लगइन गर्नुहोस् । 

-बायाँ भागमा भएको स्टोरेजमा क्लिक गर्नुहोस् । 

-त्यहाँ तपाईंले स्टोरेज बढी भएको फाइल माथि देखिन्छ ।

-अब फाइलमा राइट क्लिक गर्नुहोस् । त्यहाँ 'मुभ टु ट्र्यास' भन्ने विकल्प देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् ।

मोबाइल

-गुगल ड्राइभ एप खोल्नुहोस् । 

-बायाँ भागमा भएको 'फाइल्स'मा ट्याप गर्नुहोस् । 

-अब माथिल्लो बायाँ भागमा भएको 'नेम'मा क्लिक गर्नुहोस् । त्यहाँ केही विकल्प आउँछन् । ती मध्ये ‘स्टोरेज युज्ड' मा ट्याप गर्नुहोस् ।

जिमेल

ठूला आकारका फाइलहरू जिमेलमा पनि हुने गर्छन् । जसले पनि ड्राइभको स्टोरेज फुल भएको हुन सक्छ । तर, तपाईंले सजिलो तरिकाले त्यस्ता ठूला फाइलहरू खोज्न सक्नुहुन्छ । यसका लागि, 

-जिमेलको सर्च बक्समा जानुहोस् । 

-त्यहाँ has:attachment larger:10MB टाइप गर्नुहोस् ।

-यसरी गरेर सर्च तपाईंले जिमेलमा भएका १० एमबीभन्दा बढी आकार भएका देखिन्छ ।

-अब तिनीहरूलाई सेलेक्ट गरेर तपाईंले सजिलैसँग मेल डिलिट गर्न सक्नुहुन्छ ।

सम्झनु पर्ने कुरा, यसरी डिलिट भएका फाइलहरू ट्रयास फोल्डरका ३० दिनका लागि रहन्छन् । यदि तपाईंलाई तत्कालै स्टोरेज चाहिएको छ भने तपाईंले डिलिट गर्न सक्नुहुने छ ।

२. जिमेलको स्पाम फोल्डर खाली गर्नु 

जिमेलमा आउने स्पाम मेल स्वतः स्पाम फोल्डरमा जाने गर्छन् । जसले गर्दा धेरैले यो फोल्डरलाई हेर्नै गर्दैनन् । तर लामो समयसम्म यहाँ जमेर बसेका मेलहरूलाई डिलिट नगर्दा स्पेस भने खर्च भइरहेको हुन्छ । यसका कारण तपाईंले समय समयमा स्पाम फोल्डर पनि डिलिट गरिरहनु पर्ने हुन्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्:

-जिमेलमा लगइन गर्नुहोस् । 

-बायाँ भागमा  भएको स्पाम फोल्डरमा क्लिक गर्नुहोस् । (फोनमा भए तीन ओटा तेर्सो लाइन भएको मेनुबारमा क्लिक गर्नुपर्छ ।) 

-अब फाइलहरू भए त्यहाँ देखिन्छन् । तपाईंले ती सबैलाई एकमुष्ट सेलेक्ट गरेर डिलिट गर्न सक्नुहुने छ ।

३. गुगल फोटोज खाली गर्नु 

गुगल ड्राइभ अलि चाँडै भरिनुको एउटा कारण गुगल फोटोज पनि हो । किनकि यसमा फोटो र भिडिओ मात्र हुने गर्छन् । तिनले डकुमेन्टको फाइलभन्दा सामान्य रुपमा बढी स्टोरेज ओगट्छन् । यहाँ भएका फाइलहरू डिलिट गर्न निम्न प्रक्रिया अपनाउन सक्नुहुन्छ: 

-गुगल फोटोजमा लगइन गर्नुहोस् ।

-डिलिट गर्न चाहेको फोटो र भिडिओको  बायाँतर्फ माथिल्लो भागमा भएको 'टिक मार्क'मा क्लिक गर्नुहोस् । 

-यसरी तपाईंले थप फोटो/भिडिओ छान्न सक्नुहुन्छ । यसपछि माथिल्लो भागमा भएको डिलिटमा गर्नुहोस् ।

त्यस्तै 'अटो ब्याकअप एन्ड सिन्क' हुँदा थाहा पनि अनावश्यक फोटो/भिडिओले स्टोरेज भरिरहेको हुन्छ । यसलाई पनि तपाईंले अफ गर्न सक्नुहुन्छ । तर यो ऐच्छिक कुरा हो । 

यसरी तपाईंले पुराना फाइल तथा फोटोहरूलाई डिलिट गरेर स्टोरजमा खर्च गर्नबाट रोक्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: साउन १, २०८१ ११:५२