काठमाडौं । राइड शेयरिङलाई कानुनी मान्यता दिन लागेको भन्दै यातायात व्यवसायीहरूले आज गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गराएका छन् । रातो नम्बर प्लेटका सवारीमा यात्रु ओसारपसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने माग राख्दै व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीको नेतृत्वमा भएको बन्दको प्रभावमा आज प्रदेशका ११ वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न पाएका छैनन् ।
गत बिहीबार व्यवसायीहरूले उक्त कार्यविधि नल्याउन प्रदेश सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएका थिए । यसका साथै व्यवसायीहरूले सात बुँदे माग राख्दै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव शंकर पण्डितलाई ज्ञापनपत्र बुझाउनुका साथै मन्त्री दीपक मनाङेलाई समेत भेटेका थिए ।
उक्त ज्ञापनपत्रमा वैज्ञानिक भाडा दर कायम गर्न र निजी सवारीलाई सार्वजनिक प्रयोगमा ल्याउन नदिनु पर्ने लगायतका विषय समेटिएका छन् । तर, प्रदेश सरकारले व्यवसायीहरूको कुरा नसुनेपछि विरोध स्वरूप सार्वजनिक यातायात बन्द गराइएको बताइएको छ । विशेषत: व्यवसायीहरूको बन्दले यात्रुहरू मर्कामा परेका छन् ।