काठमाडौं । जबी एभिएसनले तयार पारेको हाइड्रोजनयुक्त इलेक्ट्रिक ट्याक्सीले ५२३ माइल (करिब ८४२ किलोमिटर) उडेर कीर्तिमान कायम गरेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा २४ जुनमा उक्त ट्याक्सीले भर्टिकल टेकअफ र ल्यान्डिङ (भीटीओएल) सफलतापूर्वक सम्पन्न गरेको हो ।
यसअघि जबी एभिएसनकै विद्युतीय सवारी थ्रीफोल्डले कायम गरेको रेकर्ड नयाँ ट्याक्सीले तोडेको हो । उडेर ल्यान्ड गर्ने क्रममा पनि उक्त ट्याक्सीमा कम्तीमा १० प्रतिशत इन्धन बाँकी भएको बताइएको छ ।
यो ट्याक्सीले इलेक्ट्रिक सवारीको तीन गुणा लामो दूरी तय गरेर हाइड्रोजनको क्षमता देखाएको छ । कम्पनीले यस्तो ट्याक्सीले भविष्यमा अझ बढी दूरी कायम गर्नसक्ने बताएको छ । प्रदूषणरहित यो सवारी भविष्यमा प्रमुख सवारी साधन हुनसक्ने कम्पनीको भनाइ छ । यस उडानले केवल पानी मात्र बाइप्रडक्टको रूपमा उत्पन्न गर्छ ।
अहिले उडेरै रेकर्ड कायम गरेको जबी एभिएसनको यो ट्याक्सी खासगरी ब्याट्रीबाट चल्ने गरी डिजाइन गरिएको थियो । यसमा छ ओटा ब्लेड (पङ्खा) रहेका छन् र यसलाई सहरी क्षेत्रमा उड्ने गरी विकास गरिएको हो ।
सुरुमा ब्याट्रीबाटै परीक्षण थाले पनि जबी एभिएसनका इन्जिनियरले पछि यस एयर ट्याक्सीलाई हाइड्रोजन इलेक्ट्रिक मोडेलमा परिणत गरे । त्यसपछि ४० किलो लिक्विड हाइड्रोजन अटाउने ट्याङ्की र हाइड्रोजन फ्युल सेल सिस्टम राखियो ।
एयरक्राफ्टमा रहेको फ्युल सेलले हाइड्रोजनलाई विद्युत्, पानी र तापमा परिणत गर्छ भने पानी फोहोरको रूपमा बाहिर फालिन्छ । उडान र अवतरणका समयमा बढी ऊर्जा चाहिने भएकाले यसमा थप ब्याट्रीहरू पनि राखिएको कम्पनीले जनाएको छ । कम्पनीले यसका लागि तयार पारेको यस्तो किसिमको ब्याट्री २०२५ पछि बिक्री गर्ने योजना बनाएको छ ।
जबी एभिएसन विद्युतीय भटीओएल (भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) एयरक्राफ्ट डेभलपर बनेको छ, जसले फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए) टाइप सर्टिफिकेटका लागि तेस्रो चरणको परीक्षण सम्पन्न गरेको छ । कम्पनीले अब दुई चरणको परीक्षण सम्पन्न गर्न बाँकी छ ।
यस चरणमा एफएएले उक्त एयरक्राफ्टको मेकानिकल, स्ट्रक्चरल र इलेक्ट्रिक सिस्टम अनुगमन गरी स्वीकृत गरेको थियो । अबको चरणमा भने उक्त एयरक्राफ्टको सम्पूर्ण सिस्टम नै परीक्षण गरिने बताइएको छ ।