close

तीन पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउँदै ह्वावे, सामसङलाई धक्का पुग्ने अनुमान

टेकपाना टेकपाना

साउन २६, २०८१ १४:४७

तीन पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउँदै ह्वावे, सामसङलाई धक्का पुग्ने अनुमान

काठमाडौं । ह्वावेले ट्रिपल-फोल्डेबल स्मार्टफोन विकास गरिरहेको खबर गत जुलाईमा बाहिरिएको थियो । हालै यो स्मार्टफोन ह्वावेका एक उच्च अधिकारीको हातमा देखिएको छ । एन्ड्रोइड हेडलाइन्सको रिपोर्ट अनुसार ह्वावे कन्जुमर बिजनेस ग्रुपका सीईओ रिचर्ड यूको हातमा यो ट्राइ-फोल्ड स्मार्टफोन परेको छ ।

यो फोनमा ठूलो इनर स्क्रिन देखिन्छ, जुन तीन पटक फोल्ड गर्न सकिन्छ । वेइबोमा डिजिटल च्याट स्टेशन नामक टिप्स्टरले यसलाई पहिले कम्पनीको अनुसन्धान तथा विकास (आर एन्ड बी) का क्रममा देखिएको प्रोटोटाइप मिल्ने दावी गरेका छन् ।

यो स्मार्टफोनमा १० इन्चको इनर डिस्प्ले रहने छ, जसको फ्रन्ट क्यामेराका लागि होल-पन्च कटआउट राखिएको हुनेछ । यो स्मार्टफोन ट्राइ-फोल्ड हुँदा पनि मोटाइ धेरै नहुने अनुमान गरिएको छ ।

सम्भवतः यो स्मार्टफोनमा ह्वावेको नयाँ किरिन नाइन सिरिजको प्रोसेसर हुनेछ, जुन ह्वावेको पछिल्लो प्रोसेसर हो । 

ह्वावे कन्जुमर बिजनेस ग्रुपका सीईओ रिचर्ड यू

हालसम्म फोनको बारेमा धेरै जानकारी बाहिर आएको छैन, तर यो ह्वावे मेट एक्स ६ को रूपमा बजारमा आउने चर्चा छ ।

सामसङले आफ्नो ग्यालेक्सी जेड फोल्ड सिरिजमार्फत फोल्डेबल स्मार्टफोनलाई मुख्यधारमा ल्याएको लामो समय भएपनि फोनको स्वरूपमा खासै परिवर्तन आएको छैन ।

अर्कोतर्फ सामसङ र टीसीएलले ट्राइ-फोल्डिङ डिस्प्लेको अवधारणा धेरै वर्ष पहिले प्रस्तुत गरेका हुन्, तर अहिलेसम्म बजारमा ल्याउन सकेका छैनन् । ह्वावेले भने सबैलाई पछि पार्दै यस्तो स्मार्टफोन ल्याउने तरखर गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन २६, २०८१ १४:५८