close

नेपालको ‘मुनाल’ स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने

टेकपाना टेकपाना

साउन २७, २०८१ १३:१०

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । नेपाली स्याटलाइट ‘मुनाल’ प्रक्षेपण गर्न भारतले सहयोग गर्ने भएको छ । शनिबार नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा भारतको विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआईएल) बीच मुनाल प्रक्षेपणका लागि अनुदान सहयोग उपलब्ध गराउने समझदारी भएको हो । 

समझदारी पत्रमा भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)को सहयोगमा स्वदेशमै निर्माण गरिएको मुनाल स्याटलाइट एनएसआईएलको पोलर स्याटलाइट प्रक्षेपण बाहन ((PSLV)) मा निःशुल्क प्रक्षेपण गरिने समझदारी पत्रमा उल्लेख छ । 

नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालका अनुसार ४ जनवरी २०२४ मा भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा मुनाल स्याटलाइट प्रक्षेपणका लागि नास्ट र एनएसआईएलबीच समझदारी पत्र आदानप्रदान भएको थियो । 

नेपाली अन्तरिक्ष स्टार्टअप अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)ले यस स्याटलाइटको डिजाइन र निर्माणमा नेपाली विद्यार्थीहरूलाई सहयोग गरेको थियो । यस स्याटलाइटको उद्देश्य पृथ्वीको सतहको भेजिटेसन डेन्सिटी डेटाबेस निर्माण गर्नु रहेको छ । 

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका प्रतिनिधि डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. आभास मास्केको समेत उपस्थिति रहेको थियो ।

 

पछिल्लो अध्यावधिक: साउन २७, २०८१ १३:२५