close

आज सार्वजनिक हुँदै ‘गुगल पिक्सेल ९’ सिरिज, आईफोन १६ लाई टक्कर दिने अनुमान

टेकपाना टेकपाना

साउन २९, २०८१ १२:११

आज सार्वजनिक हुँदै ‘गुगल पिक्सेल ९’ सिरिज, आईफोन १६ लाई टक्कर दिने अनुमान

काठमाडौं । गुगलले आज पिक्सेल नाइन सिरिज सार्वजनिक गर्ने भएको छ ।  ‘मेड बाई गुगल’ कार्यक्रम गर्दै कम्पनीले  पिक्सेल नाइन सिरिज, पिक्सेल नाइन प्रो फोल्ड लगायतका डिभाइस सार्वजनिक गर्न लागेको हो ।

क्यालिफोर्नियाको माउन्टेन भ्यूमा नेपाली समय अनुसार राति १०:४५ बजेदेखि हुने कार्यक्रमको प्रत्यक्ष प्रसारण युट्युबमार्फत हेर्न सकिनेछ । कार्यक्रमको मुख्य आकर्षण पिक्सेल फोन हुनेछ । प्रविधि विश्लेषकहरूका अनुसार यो सिरिजले एप्पलको आगामी आईफोन १६ सिरिजलाई कडा चुनौती दिनेछ ।

यस पटक तीनवटा पिक्सेल फ्ल्यागशिप फोनहरू सार्वजनिक हुँदैछन् । पिक्सेल नाइन सस्तो भेरियन्ट हो भने, पिक्सेल नाइन प्रो एक्सएल ठूलो साइज र प्रिमियम अनुभव चाहनेहरूका लागि लक्षित छ । त्यस्तै  सानो आकारको फोनमा प्रिमियम अनुभव चाहनेका लागि पिक्सेल नाइन प्रो उपलब्ध हुनेछ ।

सोही कार्यक्रममा गुगलको दोस्रो पुस्ताको फोल्डेबल फोन ‘पिक्सेल नाइन प्रो फोल्ड’ पनि सार्वजनिक हुनेछ । यो पहिलेको पिक्सेल फोल्डभन्दा लामो र ठूलो स्क्रिनको साथमा आउने बताइएको छ ।

गुगलका नयाँ फोनहरूमा टेन्सर जी फोर चिप, आईपी ६८ रेटिङ, वायरलेस चार्जिङ सपोर्ट जस्ता सुविधा उपलब्ध हुने चर्चा छ । यसका साथै, फोनहरूको मूल्य पनि बढ्ने सक्ने सम्भावना छ । 

पछिल्लो अध्यावधिक: साउन २९, २०८१ १२:२३