काठमाडौं । कुनै समय क्रिप्टोकरेन्सीका आलोचक पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग लाखौं डलर बराबरको इथेरियम (एक प्रकारको क्रिप्टोकरेन्सी) रहेको जानकारी बाहिरिएको छ । हालै सार्वजनिक ट्रम्पको वित्तीय कागजातबाट यस्तो खुलासा भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार उनीसँग १० लाखदेखि ५० लाख डलर बराबरको ‘भर्चुअल इथेरियम की’ छ ।
सन् २०१९ तिर ट्रम्प राष्ट्रपति हुँदा क्रिप्टोकरेन्सी त्यति राम्रोसँग नियमन भएको थिएन । त्यसैले उनलाई क्रिप्टोकरेन्सी लागूपदार्थ तस्करी जस्तो गैरकानुनी गतिविधिका लागि प्रयोग हुन्छ भन्ने चिन्ता थियो । ट्रम्पले सामाजिक सञ्जालमा भनेका थिए, “म बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीको प्रशंसक होइन । जुन पैसा होइन, र यसको मूल्य अत्यधिक अस्थिर र पातलो हावामा निर्भर छ ।”
उनले देशको एकमात्र वास्तविक मुद्राको रूपमा अमेरिकी डलरको सर्वोच्चतामा जोड दिएका थिए । सन् २०२१ मा फक्स बिजनेससँग कुरा गर्दै उनले बिटक्वाइनलाई सम्भावित ‘प्रकोप पर्खिरहेको’ संज्ञा दिएका थिए ।
विगतमा क्रिप्टोकरेन्सीलाई स्क्याम (ठगी धन्दा) हो भन्ने ट्रम्पले अहिले आफैंसँग करोडौं मूल्यको क्रिप्टोकरेन्सी राखेका छन् ।
गत जुनमा उनले बिटक्वाइन माइनर र विशेषज्ञहरूसँग भेट गरेका थिए । भेटघाटपछि उनले ‘ट्रुथ सोसल’ (ट्रम्पको सामाजिक सञ्जाल)मा पोस्ट गर्दै बिटक्वाइन माइनिङ केन्द्रीय बैंकको डिजिटल करेन्सी बन्नसक्ने बताए ।
वर्तमान राष्ट्रपति जो बाइडेनले बिटक्वाइनलाई सकारात्मक रूपले नहेर्दा चीन, रूस लगायत कम्युनिस्ट धारका देशलाई फाइदा पुग्ने ट्रम्पको तर्क छ । उनले पछिल्लो समय क्रिप्टोकरेन्सीमै चन्दा सङ्कलन गर्न थालेको बताइन्छ ।